सरिता कर्मकार

विराटनगर । आईटीएफ तेक्वाण्डो संघ प्रदेश १ ले वर्षभरिका उत्कृष्ट र नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई बुधबार विराटनगरमा सम्मान गरेको छ ।

संघको २१ औँ वार्षिकोत्सव अवसरमा उत्कृष्ट एवं स्वर्ण, रजत र कास्य पदक विजेता महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र उत्कृष्ट डोजाङ्गलाई सम्मान गरिएको हो ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले सम्मानित हुनेहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरे ।

आईटीएफ तेक्वाण्डो संघ प्रदेश १ का संस्थापक अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार वर्षभरिको उत्कृष्ट खेलाडीमा महिलातर्फ मोरङकी कुसुम राजवंशी, पुरुषतर्फ झापाका रोशन मगर तथा उत्कृष्ट प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङलाई सम्मान गरिएको छ ।

त्यस्तै जिल्लातर्फ आईटीएफ तेक्वाण्डो संघ मोरङ र डोजाङ्गतर्फ भोजपुरको दिंला आईटीएफ तेक्वाण्डो डोजाङ्ग प्रदेशकै उत्कृष्ट घोषित भएको कार्कीले बताए ।

उनका अनुसार पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता आईटीएफ तेक्वाण्डोका खेलाडीहरु मोरङकी कुसुम राजवंशी, झापाका रोशन मगर र वीरबहादुर तामाङ पनि सम्मानित भएका छन् ।

राजवंशीले ५०–५५, मगरले ७०–७५ र तामाङले ८०–८४ किलो तौल समूहबाट प्रतियोगितामा सहभागिता जनाएर स्वर्ण जितेका हुन् ।

त्यस्तै ४५–५० किलो तौल समूहबाट मोरङकी इन्दिरा थापा र ५५–६० किलो तौलतर्फ भोजपुरकी सजिना तामाङले रजत पदक हात पारेका थिए ।

यसैबीच ५५–६० किलो तौल समूहतर्फ मोरङका प्रथम कार्की, ६०–६५ तौलमा नितेश खवास, ६५–७० किलो तौलमा सुनसरीका हिराधन राई, ७५–८० किलो तौलतर्फ भोजपुरका दिलन राई र ८५ किलोमाथि तौलतर्फ सुदीप तामाङले कास्प पदक जितेका थिए ।

स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीसहित प्रशिक्षकहरु अभय राई, केशव कार्की र टिम व्यवस्थापक केशव भट्टराईलाई पनि सम्मान गरिएको अध्यक्ष कार्कीले बताए । उनका अनुसार नवौं राष्ट्रिय खेलकुदमा आईटीएफ तेक्वाण्डो संघ प्रदेश १ ले १० वटा पदक जितेको थियो ।

प्रदेश खेलकुद विकास बोर्डबाट राष्ट्रिय खेलकुदमा समावेश गरिएको ३६ वटा खेलमध्ये आईटीएफ तेक्वाण्डो प्रदेश १ प्रथम स्थानमा पर्न सफल भएको जानकारी कार्कीले दिए ।

(प्रशिक्षार्थी)

112
Shares
७ पुष २०७९, बिहीबार १०:२०