उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । कांग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए ।
०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए । दलको नेता भएकै कारण उनी ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बनेका थिए ।पार्टीभित्रको समीकरणलाई सहज बनाउन सभापति कोइरालाले ०५६ मा अर्का नेता कृष्णप्रसाद भट्टराईलाई चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका थिए, चुनावपछि संक्षिप्त समयका लागि प्रधानमन्त्री हुने बाटो पनि दिएका थिए । तत्कालीन माओवादी द्वन्द्व व्यवस्थापनमा भट्टराई र कोइराला असफल भएपछि देउवा दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका थिए ।
०६२,६३ को परिवर्तनयता पनि देउवा चौथो र पाँचौं पटक प्रधानमन्त्री भएका छन् । उनी संसदीय दलका पछिल्ला सबै निर्वाचनमा प्रतिस्पर्धी छन् ।०६४ मा देउवालाई पराजित गरेर पौडेल दलको नेता भएका थिए । तर, प्रधानमन्त्रीका लागि संसद्मा १७ पटक प्रतिस्पर्धा गर्दा पनि उनी विजयी भएका थिएनन् ।