मानिसहरूको क्रयशक्तिमा कमीसँगै विश्वभर औद्योगिक उत्पादनको माग घट्दै गएको छ, रोजगारदाताहरूले रोजगारी कटौती गरेका छन् ।
नेपालमा पनि अधिकांश आन्तरिक सूचकमा गिरावट देखिएको छ भने मुलुकमा आर्थिक मन्दीका संकेत देखिइसकेको विज्ञहरूले बताएका छन् ।वस्तु र सेवाको माग लगातार घट्दै जानुलाई आर्थिक मन्दी भनिन्छ । मन्दी आएपछि वस्तुको माग घट्छ, माग घट्दा उत्पादन घट्छ र रोजगारी कटौती हुन्छ ।
अहिले नेपालमा यो अवस्था देखिएको छ । कतिपय क्षेत्रमा रोजगारी कटौती हुन थालिसकेको छ । औद्योगिक प्रतिष्ठानतर्फको रोजगारी अहिलेसम्म कटौती नभएको भए पनि यही अवस्थामा लामो समयसम्म कर्मचारी धान्न नसकिने निजी क्षेत्र बताउँछ ।मिडियाको विज्ञापन ६० प्रतिशतले घटेको छ भने प्रसारण भएको विज्ञापनको तीन अर्ब रुपैयाँभन्दा बढी रकम बजारबाट उठाउन बाँकी रहेको नेपाल विज्ञापन संघ बताउँछ ।
त्यस्तै औद्योगिक क्षेत्रको उत्पादनमा ७० प्रतिशतसम्मको गिरावट आएको छ भने घर जग्गाको कारोबारमा ९० प्रतिशत र अटोमोबाइल क्षेत्र लगभग बन्द छ । दैनिक उपभोग्य बाहेक अन्य वस्तुहरूको बजार मागमा ७० देखि ८० प्रतिशत सम्मको गिरावट आएको छ ।
सुपर मार्केटको व्यापार घट्दै गएको देखिन्छ भने आन्तरिक पर्यटकको चहलपहल नहुँदा क्याफे तथा रेस्टुरेन्टमा चहलपहल कम हुँदै गएको छ ।
मन्दी चरम उत्कर्षमा पुगेपछि बैंकमा पर्याप्त तरलता हुन्छ, ब्याजदर घट्दै जान्छ भने मुद्रास्फीति ओरालो लाग्छ । अहिलेको अवस्था आर्थिक मन्दीको सुरुवाती संकेत भएको विज्ञहरू बताउँछन् ।
विश्वमा सन् १६४०, १८३७, १९३० र २००८ गरी पटक(पटक मन्दी आएको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र वर्ल्ड इकोनोमिक फोरम लगायतका संस्थाहरूले सन् २०२३ मा मन्दी उच्च बिन्दुमा पुग्ने बताउँदै आएका छन् ।
सन् २०२१ मा ६ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धि २०२२ मा तीन भन्दा तल र २०२३ मा गएर एक प्रतिशत भन्दा पनि कम हुने प्रक्षेपण छ ।
यी सबै सूचकहरूले सन् २०२३ विश्वभर आर्थिक मन्दी आउने देखाउँछन् । तर हाम्रो सरकार र कार्यकारी निकाय भने आयात प्रतिबन्ध गरेर देखिएको सुधारलाई वास्तविक अर्थतन्त्रमा सुधार भन्दै आएको छ ।