विराटनगर । मंसिर ४ को निर्वाचनमा विजयी भएर प्रदेश सांसद बनेकाहरुलाई स्वागत गर्ने तयारी पूरा भएको हो । यसका लागि प्रदेश १ प्रदेशसभा भवनमा सबै तयारी पूरा भएको छ ।

९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका छन् ।

प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदलाई स्वागत, शपथ तथा प्रदेशसभा बैठक सञ्चालनका लागि व्यवस्थापनको काम सकिएको जनाएको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले रङरोगन तथा सरसफाई गरेर संसद भवन र सभाहल तयारी अवस्थामा राखिएको बताए । सांसदहरुको शपथको मिति भने तय भइनसकेको जानकारी उनले दिए ।

प्रदेशसभा सचिवालयमा संसदीय दलको कार्यालय, सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, मुख्यमन्त्रीको कार्यकक्ष र सत्तापक्षीय दलको कार्यालय व्यवस्थापनको सबै काम सकिएको पराजुलीले बताए ।

प्रदेशसभा सदस्यमा नेकपा (एमाले) ले ४०, नेपाली कांग्रेसले २९, नेकपा (माओवादी केन्द्र) ले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ६, नेकपा (एकीकृत समाजवादी) ले ४ र जनता समाजवादी पार्टी (जसपा) ले १ सिट प्राप्त गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावको अन्तिम परिणामसहित निर्वाचित प्रदेशसभा सदस्यको नामावली गत शनिबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाएका थिए ।

संवैधानिक व्यवस्था अनुसार सुरुमा प्रदेश प्रमुखले प्रदेशसभामा प्रतिनिधित्व गर्नेमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउने छन् । त्यसपछि ज्येष्ठ सदस्यले अन्य प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ ।

प्रदेश १ मा नेपाली कांग्रेसबाट निर्वाचित गयानन्द मण्डल ज्येष्ठ सदस्य हुन् । निर्वाचन आयोगले बुझाएको उम्मेदवारको विवरण अनुसार मण्डल ७९ वर्ष पुगेका छन् । उनी मोरङको निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ बाट निर्वाचित भएका थिए ।

सभामुख र उपसभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यकै अध्यक्षतामा प्रदेशसभाको बैठक सञ्चालन हुने छ ।

77
Shares
५ पुष २०७९, मंगलवार १७:३३