मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उनले यस्तो बताएका हुन् ।
सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली कांग्रेसहरुमा खुसी र उत्साह हुने भन्दै उनले फिर्ता लिनेमा आफू विश्वस्त रहेको पनि बताए ।महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गरे। उनले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गरे।
उनले संसदीय दलको नेताको चुनाव नेपाली कांग्रेसको भविष्य र अपेक्षासँग जोडिएको उल्लेख गरे।‘पार्टी सभापति सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँले शान्त मनले मनन गरेर उम्मेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा एउटा ऐतिहासिक दिन हुनेछ। यसले नेपाली कांग्रेसभित्र एउटा नयाँ उत्साहको तरंग ल्याउनेछ भन्ने विषयमा मनन गर्न आग्रह गर्दछु’ उनले भने ।
महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थकमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन्। संसदीय दलको निर्वाचन बुधबार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ।