विराटनगर ।  मोरङको रंगेली नगरपालिका–१ स्थित पैनीमा मंगलबार बिहान १ जना पुरुष मृत फेला परेका छन् ।

पानी बगिरहेको पैनीमा रंगेली–१ खोरिया टोलका अन्दाजी ५५ वर्षीय श्रवणकुमार राई मृत फेला परेका हुन् । प्रहरीका अनुसार खेतमा पानी पटाउन भनेर राई सोमबार राति ८ बजेतिर घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खेतमा पानी लगाउन गएका राई घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए । त्यही क्रममा घरदेखि अन्दाजी ७ सय मिटर पश्चिम–उत्तरमा रहेको पैनीमा मंगलबार बिहान ९ः३० बजेतिर शव भेटिएको प्रहरीले जनाएको छ ।

पैनीमा डुबेर मृत्यु भएको अवस्थामा राईको शव भेटिएको जानकारी प्रहरीले पाएको थियो । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।

राईको मृत्युको कारण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
4.17k
Shares
५ पुष २०७९, मंगलवार १६:१०