विराटनगर । हरक्षेत्रका लागि महत्वपूर्ण मानिने शिक्षा क्षेत्र व्यवस्थित गर्न अपेक्षाकृत रुपमा पहल नहुँदा प्रभावकारी हुन सकेको छैन । दशकौं पुरानो नीतिका आधारमा चल्नुपर्दा मुलुककको शिक्षा क्षेत्र व्यवस्थित हुन नसकेको हो ।

बहुदलीय शासन प्रणाली लागू भएसँगै धेरै दलहरु मिलेर सरकार बन्ने परिपाटीले वर्षमा दुई–तीन पटक सरकार फेरिने गरेको छ । पछिल्ला कुनै पनि सरकार पाँच वर्ष टिक्न सकेका छैनन् ।

सरकार नेतृत्वकर्ता दल उही भए पनि मन्त्रीहरु फेरिरहने चलन सामान्य हुन थालेको छ ।

सबैजसो दलका नेता शिक्षा मन्त्री बनेका छन् । उनीहरुले सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्छन् तर अवस्था उस्तै छ । खासगरी शिक्षा क्षेत्रलाई सहज र गुणस्तरीय बनाउने नारा उनीहरुको हुन्छ । यसो गर्नेमा वामपन्थी दलबाट मन्त्री बनेकाहरुको भनाइ अझ चर्को हुने गरेको छ । तर भनाइअनुसार काम भने भएको पाइँदैन ।

२०६४ यता १५ वर्षमा ८ जना कम्युनिष्ट नेताहरु शिक्षा मन्त्री बनेका छन् । २०६७ सालमा शिक्षा मन्त्री बनेका तत्कालीन एमाले नेता गंगालाल तुलाधर राजनीतिक दलहरुले शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा बेथिति बढेको बताउँछन् ।

उनी आफू शिक्षा मन्त्री बन्दा पादधिकारी भागवण्डामै मिलाउन पर्ने बाध्यता रहेको बताउँछन् । बजेटमा २० प्रतिशत पुयाउने प्रयासमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग संघर्ष गर्नुपरेको उनको अनुभव छ ।

संघर्ष गर्ने क्षमता राख्ने मन्त्री र नीति निर्माता तहमा पुगेकाले मात्र सुधारका लागि काम गर्न सक्ने उनी बताउँछन् ।

२०६८ सालमा शिक्षा मन्त्री बनेका दिनानाथ शर्मा आफूले शिक्षा क्षेत्रको सुधारका लागि हर प्रयास गरेको दाबी गर्छन् ।

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गरेको, खुला विश्वविद्यालय सञ्चालनका लागि आफ्नै पालामा निर्णय भएको शर्मा दाबी गर्छन् ।

माध्यमिक विद्यालयमा प्राविधिक धारको शुरुवात पनि आफ्नै पालामा भएको उनी बताउँछन् । मूलुकमा दुई दुई पटक आन्दोलन भएपनि नीतिगत सुधार हुन नसक्दा बेथिति रहेको उनी बताउँछन् ।

निजी विद्यालयमा लगानी गरेका धेरै जसोव्यक्ति राजनीतिक वृतमा छन् । विभिन्न चरणमा शिक्षा ऐन संशोधन गर्ने प्रयास भएपनि अहिलेसम्म हुन सकेको छैन ।

पुराना नीति नियममा टेकेर अगाडि बढीरहेकाले पनि शिक्षा क्षेत्रमा सुधार नभएको उनको भनाई छ । शिक्षामा गुणात्मक रुपले नीतिगत परिवर्तन गर्नुपर्ने शर्माको भनाई छ ।

राजनीतिक दलका नेताहरुको स्वार्थका कारण शिक्षा नीति पारित हुन नसकेको उनको भनाई छ । शिक्षा क्षेत्रमा रहेका व्यक्ति नै राजनीति गर्न संसदमा पुगेका कारण अवरोध भएको पनि उनले बताए ।

हरेक चुनावमा प्रमुख राजनीतिक दलले चुनावी घोषणापत्रमा शिक्षा क्षेत्र सुधारका आ–आफ्ना एजेन्डा समावेश गर्ने गरेका छन् ।

घोषणा पत्रमा उल्लेख भएअनुसार कुनै पनि व्यवस्थामा उनीहरुको ध्यान गएको पाइँदैन ।घोषणा पत्रमा उल्लेख भएका बुँदाहरु घोषणा पत्रमा नै सीमित हुने गरेका छन् ।

२०६७ सालमा कुल बजेटको १७ प्रतिशत शिक्षा क्षेत्रका लागि छुट्याइएको थियो । तर त्यस यता हरेक आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेट घट्दै गएको छ ।

विद्यालय स्तरको शिक्षादेखि विश्वविदालय तह सम्मको शिक्षामा बेथिति बढेको पाइएको छ । शिक्षाविद डा. केदारभक्त माथेमा राजनीतिक दलका कारण शिक्षा क्षेत्रमा बेथिति बढेको बताउँछन् ।

विश्वविद्यालयमा राजनीतिक दलका नेताले आफ्नो स्वार्थ पूर्तिका लागि नजिकका व्यीक्त नियुक्ति गर्ने भएकाले पनि बेथिति बढेको उनको भनाई छ ।

माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेल दुई पटक शिक्षा मन्त्री बनि सकेका छन् । उनी २०७२ र २०७६ मा शिक्षा मन्त्रीका रुपमा रहीसकेका छन् ।

शिक्षा क्षेत्रको समग्र सुधारका लागि दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने उनको भनाई छ । शिक्षा क्षेत्रको केही विषय सुधार गर्नु पर्ने र केही पुरै परिवर्तन गर्नुपर्ने उनको भनाई छ ।

शिक्षाको नीति अर्थतन्त्र, राजनीति, सामाजिक पक्षको सबै पक्षको प्रतिविम्बित नीतिहरुको समीश्रणका रुपमा लिने गरिन्छ ।

विभिन्न समयमा फरक राजनीतिक दलका प्रधानमनत्री र शिक्षामन्त्री रहँदा पनि समस्या उत्पन्न भएका उदाहरणहरु छन् ।

नीति स्पष्ट नहुँदा शिक्षा क्षेत्रमा बेथिति बढेको सर्वत्र चर्चा हुने गरेको छ । शिक्षा क्षेत्रको समग्र सुधारका लागि नीति, बजेट र दृष्टिकोणमा राजनीतिक दलहरुको दृष्टिकोण स्पष्ट हुनु जरुरी छ ।

21
Shares
५ पुष २०७९, मंगलवार ०९:१५