विराटनगर । केही दिनयता विराटनगरलगायत तराईका स्थानहरुमा बिहानैदेखि बाक्लो हुस्सु लाग्न थालेको छ । तापक्रम घट्दै जाँदा चिसो पनि बढेको छ । बाक्लो हुस्सु लाग्दा सवारी साधन सञ्चालनमा कठिनाइ हुने गर्छ । यही कारण दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ ।

यस्तो अवस्थामा दुर्घटना नहोस् भनेर मोरङमा ट्राफिक प्रहरीले सवारीसाधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्न थालेको छ ।

ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोकका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक तुलामणि आचार्यका अनुसार हुस्सु लागेका बेला र रातको समयमा टल्किने ‘रिफ्लेक्टर’ सवारीसाधनमा टाँस्न थालिएको हो ।

टल्कने बस्तु टाँसिएका सवारी साधनलाई अर्को सवारी साधनका चालक, यात्री र पैदलयात्रीले समेत स्पष्ट देख्ने भएकाले सतर्कता अपाउन मद्दत गर्छ । अनि दुर्घटनाको जोखिम पनि स्वतः घट्छ ।

विराटनगर महानगरपालिकाको घिनाघाट, पुष्पलाल चोक, तीनैपैनी, पानीट्यांकी लगायतका स्थानमा सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

ठेला, रिक्सा, सीटी सफारी, साइकल, ट्याक्टर, टिपरलगायतका सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउन थालिएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले हुस्सु लागेका बेला सवारीसाधन सञ्चालनमा सहजता ल्याउन चालकलाई प्रशिक्षण दिन थालिएको बताए।

गाडीमा ‘फग लाइट’को व्यवस्था गर्न तथा हुस्सु लागेका बेला उक्त लाइट बालेर मात्रै सवारीसाधन चलाउन चालकलाई भनिएको छ ।

हुस्सु लागेका बेला नजिकैको वस्तुसमेत नदेखिने हुँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले तीव्र गतिमा सवारीसाधन नचलाउन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

‘सवारी दुर्घटना रोक्नलाई चालक, पैदलयात्रु, विद्यार्थी, तथा सर्वसाधारणलाई समेत भेला जम्मा पारेर आवश्यक प्रशिक्षण दिने र सचेतनामूलक कार्यक्रम गर्ने गरिएको छ ।

63
Shares
५ पुष २०७९, मंगलवार ०७:३७