मर्मत र विस्तारको कामका कारण बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडक खण्डमा गाडीको आवागमन रोकिने छ । सडक खण्डमा पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले गाडीको आवागमन रोक्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोलामा पुल बनाउनका लागि काम हुनेछ ।चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनिबस, माइक्रो लगायत साना गाडीलाई १५ किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोकिने छ ।
मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्याङ्करलगायत ठूला गाडी भने भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १० बजेर ५० मिनेटदेखि रोकिने छन् ।काठमाडौंबाट छुटेका गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट छुटेका गाडीलाई बेनीटारदेखि पावर हाउससम्म रोकिने छ ।
यस्तै, काठमाडौबाट छुटेका मालवाहक गाडीलाई लेबाटारमा र पोखराबाट छुटेका मालवाहक गाडीलाई आँबुखैरहनीमा बिहान पौने ११ बजे रोकिने छ ।
बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय गाडीलाई अनुकूलता हेरी चलाउन दिइने छ । सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा २० पुल छन् । तीमध्ये पाँच पुल बनिसकेका छन् । बाँकी पुल बन्ने चरणमा रहेका छन् । आउँदो असारसम्ममा १० वटा पुल निर्माण सक्ने गरी कामअघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।
२०७६ साल चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । आउँदो ९ गते सम्झौताको अवधि सकिँदै छ । विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो ।