सोमबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले गठबन्धनबाट सहमतिमै प्रधानमन्त्री टुंगो लगाएर प्रक्रिया अघि बढाइने बताए । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने विषय टुंगो नलागेको भन्दै गठबन्धनको बैठक बसेर सहजै रुपमा प्रधानमन्त्रीको निर्णय गरिने उनले बताए ।
प्रधानमन्त्रीका लागि अवसर पाए आफू जिम्मेवारी लिन पनि तयार रहेको दाहालको भनाइ थियो । उनले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम आफूले कहिल्यै नगरेको भन्दै प्रधानमन्त्रीकै लागि अन्य पार्टीसँग मिल्ने काम नगर्ने स्पष्ट पारे ।अध्यक्ष दाहालले नयाँ राष्ट्रपति गैरराजनीतिक व्यक्तिलाई बनाउने विषय गठबन्धनमा कुनै पनि छलफल नभएको बताए । उनले कतिपय बुद्धिजिवीले गैरराजनीतिक व्यक्तित्वलाई बनाउन सुझाव दिए पनि गठबन्धन वा राजनीतिक दलभित्र चर्चा नभएको भन्दै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा सम्भव नभएकोसमेत स्पष्ट पारे ।
अध्यक्ष दाहालले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको विषय तत्काल टुंगो लगाउनुपर्ने विषय रहेको भन्दै यी विषयमा गठबन्धनभित्र प्याकेजमै सहमति हुने बताए । उनले नयाँ दलहरुसँग छलफल हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै गठबन्धन नटुट्ने स्पष्ट पारे ।