प्रहरीले बरामद गरेको भारतबाट भन्सार छलेर ल्याइएका सामग्री । तस्बिरः जिल्ला प्रहरी कार्यालय मोरङ
विराटनगर । आँखामा प्रयोग गरिने लेन्स भारतबाट तस्करी गरी ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान नियन्त्रणमा लिइएको छ ।मोतिविन्दुको शल्यक्रियापछि बिरामीलाई लगाइने लेन्स भारतको जोगबनी नाकाबाट विराटनगर भित्र्याउने क्रममा नियन्त्रणमा लिइएको हो ।
मोरङ प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय रानीका प्रहरी र सीमा प्रहरी चौकीका प्रहरीको टोलीले ती लेन्स नियन्त्रणमा लिएको हो ।१२० वटा लेन्स र औषधिसहित गरी झन्डै ९ लाख रुपैयाँका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
भन्सार तिरेर ल्याउँदा महँगो पर्ने भएपछि अवैध तरिकाले लेन्स ल्याएर विराटनगरका विभिन्न अस्पतालहरुले बिरामीलाई लगाइदिने गरेको अनुमान गरिएको छ ।यसैबीच, प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको कपडालगायत १२ लाख ३ हजार ४ सय मूल्य बराबरको सामग्री पनि बरामद गरेको छ ।