विराटनगर । स्थानीय तहको सहयोग अभावले नेपाल दूर सञ्चार प्राधिकरणलाई सेवा विस्तारमा समस्या परिरहेको छ । बिजुली आपूर्ति नियमित नहुनु, कतिपय स्थानमा टावर राख्न अवरोध हुनुजस्ता कारणले सेवा विस्तारमा कठिनाइ भएको हो ।
प्राधिकरणले विराटनगरमा आयोजना गरेको प्रादेशिक अन्तरक्रिया कार्यक्रममा सेवा प्रदायक संस्थाका अधिकारीहरुले यस्तो गुनासो गरेका हुन् ।प्रदेश १ मा दूर सञ्चार सेवाको वर्तमान अवस्था, आगामी कार्य, गुणस्तर लगायतका विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टावर राख्ने ठाउँ पाउन मुस्किल परिरहेको भन्दै समन्वय गरिदिन माग गरे ।
‘प्रत्येक सरकार कार्यालयमा टेलिकमका टावर राख्ने नीति आवश्यक परेको छ’ अध्यक्ष खनालले भने ‘संसारभर टेलिकम्यूनिकेसनको रेडिएसन हामफूल हुँदैन भन्ने मान्यता छ, तर नेपालमा सेवा माग्दै टावर राख्न अवरोध यहि मुद्दा उठाएर भइरहेको छ ।सेवा विस्तारका लागि अप्टिकल फाइबर बिछ्याउने मार्ग आवश्यक पर्ने उनले बताए । अन्तर सरकारी समन्वय नहुँदा सडक विस्तार हुँदा टेलिकमको सेवा अवरुद्ध हुने स्थिति आउने गरेको खनालको भनाइ छ ।
स्थानीय सरकारले नेपाल दूर सञ्चार प्राधिकरणका सेवा प्रदायकसँग करको मुद्दा जोडेर दवाव दिने गरेको बताउँदै उहाँले राजस्व बाँडफाँडबाट प्राप्त हुने करमा टेलिकमले बुझाएको कर समेत जोडिएर आउने कुरा बुझाई दिन प्रदेश सरकारसँग उनले अनुरोध गरे ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले टेलिकमबाट विस्तार हुनुपर्ने सञ्चार सुविधा विस्तारलाई अझै बढाउनुपर्ने बताएका थिए । नागरिकले सहज रुपमा सञ्चार सेवा नपाएको भन्दै सबै क्षेत्रमा सम्पर्क हुने सुनिश्चितता आवश्यक रहेको राईले उल्लेख गरे ।
प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीले अहिले पनि नेटवर्क खोज्दै रुख चढ्नुपर्ने अवस्थाको कसरी अन्त्य हुन्छ भन्ने कुरामा दूर सञ्चार प्राधिकरणको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
टावर राख्नका लागि आवश्यक पर्ने स्थानको व्यवस्थापनमा प्रदेश सरकार र स्थानीय सरकार ईच्छुक भए सेवाको प्रभावकारिता बढ्ने प्राधिकरणको भनाइ छ ।
(प्रशिक्षार्थी)