काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलमा गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी अगाडि छन् ।

दोस्रो सेमिफाइनलमा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको हो ।

दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधिनजिक पुगेको छ । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक–एक गोल गरे ।

फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग आइतवार खेल्नेछ । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दाबेदारको रुपमा हेरिएको छ ।

मुख्य प्रतिस्पर्धा मेस्सी र एम्बाप्पेबीच नै देखिएको छ । दुवै खेलाडीले ५–५ गोल गरेका छन् ।

असिस्ट (साथी खेलाडीलाई गोल गर्न मद्दत गरेको) को आधारमा लिओनल मेस्सी सूचीको शीर्षस्थानमा रहेका छन् ।

फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा त्योभन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट सङ्ख्या गणना हुनेछ ।

असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । मेस्सीको ३ असिस्ट र एम्बाप्पेको २ असिस्ट छ।

21
Shares
२९ मंसिर २०७९, बिहीबार ०७:५६