विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्रका चार सय दुई सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिएको छ ।

महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो चरणमा दुई सय ४० वटा भाले र एक सय ६२ पोथी कुकुरको बन्ध्याकरण गरिएको महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिएका छन् ।

महानगरले गत सोमबारदेखि अभियान सञ्चालन गरेको थियो । पहिलो चरणको अभियान आइतबार (आज) सकिएको छ । अभियानमा चार सय सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । जसमा महानगर सफल भएको छ ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा गत मंसिर १९ गते विशेष समारोहका बीच अभियान शुभारम्भ गरिएको थियो । वडा नम्बर १८ बाहेकका सबै वडाबाट कुकुरको नियन्त्रण गरेर बन्ध्याकरण गरिएको शाखा प्रमुख यादवले बताए ।

कुकुर बन्ध्याकरण

विराटनगर १९ मा रहेको पशुसेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गरिएको हो । सहारा एनिमल केयरसँगको सहकार्यमा गरिएको अभियानमा बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिएको थियो । दोस्रो चरणको अभियान माघमा सञ्चालन गरिने छ । दोस्रो चरणको अभियानमा महानगर र सहाराले ६–६ सय कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाइनेछ ।

35
Shares
२५ मंसिर २०७९, आईतवार १६:०२