विराटनगर । कुनै पनि निर्वाचनमा पराजित हुँदा स्वाभाविक रुपमा दुःख लाग्छ । चाहे कुनै उपभोक्ता समितिको होस् वा कुनै संस्थाको पदाधिकारीको निर्वाचन, जित्ने खुसी हुन्छन् भने हार्नेलाई नमज्जा लाग्ने नै भयो ।

निर्वाचनमा सहभागी भएजति सबै विजयी हुने कुरा पनि भएन । एउटाले हार्छ भने अर्को विजयी हुन्छ । विजयी हुँदैमा मात्तिने र पराजित भए निरास हुने काम परिपक्व नेताका निम्ति सुहाउँदो कुरा होइन ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा विजयी हुनेहरुभन्दा पराजित हुनेको संख्या बढी छ । चर्चा विजयी हुनेको बढी हुनु स्वाभाविकै हो । तर कतिपय उम्मेदवार पराजित भएर पनि उत्तिकै चर्चामा रहन्छन् ।

यस्तै एकजना पराजित उम्मेदवार हुन्, नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेत । मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ बाट उम्मेदवार बनेका उनी पराजित भए । प्रदेशसभा प्रवेश गर्ने उनको योजना पुरा हुन पाएन । नेपाली कांग्रेसका केदार कार्कीसँग पराजित भएका उनले विजयीलाई बधाई र शुभकामना दिएसँगै मतदाताको घरदैलोमा आफूलाई उपस्थित गराइरहेका छन् ।

सामान्यतया निर्वाचनअघि मरिहत्ते गरेर मतदातामाझ दुई हात जोड्दै पुग्ने उम्मेदवारहरु निर्वाचन अवधिभर त्यसै गर्छन् । सकिएपछि फर्किएर पनि आफ्नो क्षेत्र जाँदैनन् ।

यस्तो प्रवृत्तिका माझ बस्नेत अपवाद बनेका छन् । उनी मतदाताको घर घर पुगेर आफूलाई सहयोग गरेकामा आभार व्यक्त गरिरहेका छन् । मतदाताका समस्याहरु संकलन गरेर त्यसको समाधानको पहल गर्ने बचन दिइरहेका छन् ।

‘निर्वाचनमा सफल भइएन भन्दैमा सबै कुरा सकिएको होइन’ बस्नेत भन्छन्, ‘थोरैतिनो मतले पछि परियो, तर हजारौं मतदाताले मलाई र पार्टीलाई माया गर्नुभएको छ, यो कुरा बिर्सन सकिँदैन ।’

त्यही भएर आफू मतदातालाई धन्यवाद दिन घरघर पुगिरहेको उनको भनाइ छ ।

निर्वाचन अभियानमा सक्रिय रहँदा अनि मतपरिणाम आइसकेको अवस्थालगायत सबै प्रक्रियाबाट धेरै कुरा सिक्न पाएको बस्नेतको अनुभव छ ।

‘आगामी दिनमा त्रुटि, कमजोरी पन्साउँदै अझ सशक्त रुपमा सहभागी हुने जाँगर बढेको छ’ उनले भने, ‘निर्वाचन सकिएपछि मतदाताका माझ पुगिरहेको छु, उत्तिकै माया र उत्साह प्राप्त भइरहेको छ ।’

निर्वाचनअघि पनि घरदैलो अभियानमा सक्रिय बनेका बस्नेत र उनको टोलीले जहाँ जहाँ पुगे पनि त्यस क्षेत्रका जल्दाबल्दा समस्या संकलन गरेको थियो ।

निर्वाचनपछिको धन्यवाद अभियानमा पनि उसैगरी टोली सक्रिय बनिरहेको छ । आफू पराजित भए पनि सम्बन्धित क्षेत्रका समस्या समाधान गर्दै मतदातालाई सहज जीवनयापनमा मद्दत गर्ने प्रतिबद्धताका साथ बस्नेत सक्रिय छन् ।

पछिल्लो पटक उनी शुक्रबार बिहान विराटनगर–६ को मगंलुवावा टोल तथा लालीगुराँस टोल पुगेका थिए । त्यहाँका सुकुम्बासी बस्तीहरुमा पुगेर मतदातालाई धन्यवाद दिंदै बस्नेतले आफू सधैँ मतदातासँग रहने बताए ।

निर्वाचन अघि नेता र उम्मेदवारको लर्को लागेको देख्दै आएका मतदाताले त्यसपछि आफूले मतदान गरेका नेताको अनुहार देख्न पाउँदैन थिए ।

तर निर्वाचनमा पराजित भए पनि बस्नेत आफूहरुको गाउँ टोलमा आएको देखेर उत्साहित बनेका थिए ।

स्थानीय रामाशीष मण्डलले भने, ‘चुनावमा हार्दा पनि निरास नभइ गाउँ डुल्ने नेता पहिले देखिँदैनथियो । यसपटक भने बेग्लै दृश्य गाउँमा देख्न पाइएको छ । नेता भनेको जनताको सहयोगी र अभिभावक हो भन्ने कुरा जित्ने, हार्ने सबैले बुझ्नुपर्छ ।’

बस्नेतले पनि मतदाताको न्यानो माया र स्वागत पाउँदा आफू झन् उत्साहित बनेको अनुभव गरेका छन् ।

‘जसरी चुनावअघि मतदातमा उत्साह देखेको थिएँ, अहिले आउँदा पनि त्यसमा कुनै कमी पाइनँ’ उनले भने, ‘अबका दिनमा पहिलेको जस्तो मतदाता र दल अनि उम्मेदवारबीच खाडल हुनुहुँदैन भन्ने मान्यताका साथ म घुमिरहेको छु र यो क्रमलाई आगामी निर्वाचनसम्मै निरन्तरता दिनेछु ।’

आफूलाई सघाउने मतदाताबाट कहिल्यै पनि टाढा नहुने उल्लेख गर्दै बस्नेतले भने, ‘म सधैँ तपाईंहरुमाझ नै रहने छु, यो प्रतिबद्धता पूरा गर्न म इमान्दारीसाथ लागिरहनेछु ।’

301
Shares
२३ मंसिर २०७९, शुक्रबार १४:५८