नेपालीको तन मन सबै देश उद्यानमा होस्
कालो मैलो हटिकन यहाँ बासमा शान्ति छाओस्
त्यागौँ सारा छल कपट ती एकतामा जुटेर
आफैँ निर्धो कति हुनु सधैँ जाग आफैँ उठेर।१।

माग्दै हिँड्दा जब कहलिने त्यो सधैँको भिखारी
देलान् कल्ले कतिपय लुगा ती पुराना निखारी
दिन्छौँ पैसा छनछन गनी माल राम्रो भनेर
पार्छौँ थुप्रो गुटुमुटु सबै जान्छ कौडी गनेर।२।

सेवा गर्दै परहित सबै सोच राम्रो बनाऔँ
आफ्नो अर्को भनिकन कतै भेद केही नराखौँ
अर्काकोमा भर परी सदा हुन्न मागेर खान
चोली, टोपी बुनिकन लुगा बढ्छ सम्मान मान।३।

आफ्नै माटो मलजल गरी कर्मले खोस्रिएर
लाऊँ खाऊँ ढलमल गरी साथ साथै रमेर
वैरी सारा पर पर सरुन् वीर हामी चिनेर
आउन् झुक्दै वर वर सरी माथ उँचो लिएर।४।

छातीभित्रै कलुषित भए फाल आफैँ बुझेर
दानी ज्ञानी बन अब सबै एकतामा रमेर
हाम्रो यात्रा कति छ जिउने सोच्नु पर्ला सबैले
हाँसी हाँसी दिन सब बितोस् जिन्दगी यो रसैले।५।

–सङ्खुवासभा

14
Shares
२२ मंसिर २०७९, बिहीबार १६:३६