विराटनगर । किरावा सिप्तुङ्खा वंश उत्थान समाजको तेस्रो राष्ट्रिय सम्मेलन पुस ८ देखि १० गतेसम्म हुने भएको छ । सम्मेलन सुनसरीको धरान उपमहानगरपालिकामा हुने भएको हो ।

कार्यक्रमअनुसार धरान १९ मा रहेको हरियाली सामुदायिक भवनमा हुने सम्मेलनको पहिलो दिन प्रतिनिधिहरुको उपस्थिति हुनेछ ।

दोस्रो दिन पुस ९ गते १० बजेदेखि १२ बजेसम्म खुला सत्र तथा ३ बजेदेखि बन्द सत्र हुने आयोजकले जनाएको छ । यसैगरी तेस्रो दिन पुस १० गते बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन भइ सम्मेलनको समापन गरिने भएको छ ।

राष्ट्रिय सम्मेलन सभ्य, भव्य र उपलब्धिमूलक बनाउन देश विदेशमा रहेका प्रत्येक सिप्तुङ्खाहरुको अहम् भूमिका रहने भन्दै यसमा सहयोग गर्न समाजले आग्रह गरेको छ ।

‘तेस्रो राष्ट्रिय सम्मेलवन सभ्य, भव्य र उपलब्धिमूलक बनाउन हामी प्रत्येक सिप्तुङखाहरुको बौद्धिक, सामाजिक मानसिक र आर्थिक सहयोग महत्वपूर्ण रहेकाले देश विदेशमा रहनु हुने वंशज, चेली ज्वाइँ र आफन्तजनमा अमूल्य सहयोगका लागि अनुरोध छ’ समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय सम्मेलनको मूल मर्म सिप्तुङ्खाहरुको इतिहास र पहिचान, संस्कृति खोज र संरक्षण, परम्परागत असल संस्कारको संरक्षणका साथै समयसापेक्ष आधुनिक संस्कार र वंशज, रगतको सुमधुर सम्बन्ध कायम गर्दै जीवन सञ्चालनमा हुने कठिन अवस्थामा मानवीय सहयोग रहेको समाजले जनाएको छ ।

यसैगरी देश, विदेशबाट जनसंख्या र व्यक्तिगत विवरण पठाइदिन आग्रह गरिएको छ । आफ्नो समुदायको वंशावली समेत पाइएसम्म उपलब्ध गराउन समाजका अध्यक्ष राजबहादुर सिप्तुङ्खाले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ।

581
Shares
२२ मंसिर २०७९, बिहीबार १३:०७