क्षतिग्रस्त बनेको पुरानो मिरगन्ज पुल । अब उक्त स्थाननजिकै अर्को नयाँ पुल बनेपछि आयात निर्यात सहज हुने भएको छ ।

विराटनगर । जोगबनी नाकाबाट हुने आयात–निर्यातको समस्या अब हट्ने भएको छ । भारततर्फ मिरगन्जमा क्षतिग्रस्त बनेको पुलका कारण ढुवानीका ठूला साधन आउजाउ गर्न नपाउँदा आयात–निर्यात प्रभावित बन्दै आएको थियो ।

मिरगन्जमा अब नयाँ पुल बनेको छ । पुरानो पुलले धेरै भार थाम्न नसक्ने भन्दै भारतले ढुवानीका साधन सञ्चालन हुन दिएको थिएन । साना साधन मात्र चल्ने गरेका थिए ।

पक्की नयाँ पुल मंगलरबारदेखि सञ्चालनमा आएको छ । अब उक्त पुल हुँदै सामान लिएर ६० टनसम्मका साधन आउजाउ गर्न सक्ने भएको छ । मंगलबारबाटै ढुवानीका साधन आउन थालेका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार पुल निर्माण सम्पन्न भएपछि भारतीय सम्बन्धित निकायले अनुमति दिएसँगै सञ्चालनमा आएको छ ।

यसअघि पुरानो पुलबाट धेरै भारसहितका साधन चल्न रोक लगाइँदा अर्को नाका सुनसरीको भान्टाबारी भएर लामो एवं झन्झटिलो रुटबाट साधन ल्याउनुपर्ने बाध्यता थियो ।

तेस्रो मुलुक र भारतबाट आएका विभिन्न उत्पादन एवं नेपालका उद्योगहरुका लागि कच्चापदार्थ आउने गरेको छ ।

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) बाट करिब ४ किलोमिटर दक्षिणमा रहेको मिरगन्ज खोलाको पुल क्षतिग्रस्त बनेको थियो ।

२०७४ सालको साउनमा आएको बाढीले पनि पुल क्षतिग्रस्त बनेको थियो । त्यसयता पटक पटक मर्मत गर्दै सञ्चालन भए पनि ठूला साधन आउन पाएका थिएनन् ।

भान्टाबारी नाका हुँदै आउन भीमनगर–सेतुबन्धबाट घुमाएर आयात गर्नुपर्दा १ सय १० किलोमिटर थप दूरी तय गर्नुपर्ने अवस्था थियो । यसले गर्दा ढुवानी झन्झटिलो हुनुका साथै लागत पनि बढ्ने गरेको थियो ।

567
Shares
२१ मंसिर २०७९, बुधबार ०६:१८