काठमाडौं । पोर्चुगल फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा जारी प्रतियोगितामा मंगलबार राति स्विट्जरल्यान्डलाई ६–१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो ।

पोर्चुगलका गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । पेपे, राफायल गुइरेरो र राफायल लियोले एक–एक गोल थपे ।

स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । जोआ फेलिक्सको पासमा उनले उत्कृष्ट गोल गरे ।

३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई २–० को अग्रता दिलाए । ब्रुनो फर्नान्डेसमा पासमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० ले अघि रह्यो । उनले डिएगो डालोटको पासलाई सदुपयोग गरे ।

खेलको ५५ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई ४–० को अग्रता दिलाए । राफायलले रामोसको पासमा गोल गरेका हुन् । ५८ औं मिनेटमा एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई ४–१ को स्थितिमा ल्याए ।

खेलको ६७ औं मिनेटमा रामोसले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ५–१ को अग्रता दिलाए ।

जोआ फेलिक्सको पासमा गोल गर्दै २१ वर्षीय रामोसले ह्याट्रिक पूरा गरेका हुन् । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो ।

त्यसपछि खेलको इन्जुरी समयमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६–१ को सानदार जित दिलाए । उनी ८७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान छिरेका थिए ।

पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ । मोरक्को स्पेनलाई हराएर अन्तिम आठमा पुगिसकेको छ ।

42
Shares
२१ मंसिर २०७९, बुधबार ०५:३९