विराटनगर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्यडा. शेखर कोइरालाले सत्ता गठबन्धनकै नेतृत्वमा आगामी सरकार बन्ने बताएका छन् । हाल गठबन्धनमा आवद्ध दलहरुको सहभागितामा सरकार बन्ने र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्ने उनले बताए ।

कांग्रेस नेता गुरुराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ पुस्तक सार्वजनिक गर्न विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै कोइरालाले यस्तो भनाइ राखेका हुन् ।

बीपी कोइरालाले विराटनगरलाई राजनीतिक रूपमा स्थापित गरेको र गिरिजाप्रसाद कोइरालाले त्यसलाई संरक्षण गरेको बताउँदै उनले अबका दिनमा पहिलेको अवस्था फर्काउन सबैको सहयोग आवश्यक पर्ने बताए ।

कोइरालाले राजनीतिलाई बाटो बिराउनबाट जोगाउने प्रतिबद्धता जनाउँदै नेपाली कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन आफूले काम गर्ने पनि बताए ।

पछिल्ला दिन कांग्रेसको साख गिर्दै गएको हो कि भन्ने शंका उत्पन्न भएको बताउँदै कोइरालाले कांग्रेसलाई बाटो बिराउन नदिने बताए ।

कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने पनि बताए । कांग्रेसको साख गिर्न नदिन मुलुकमा सुशासन दिनका साथै भ्रष्टाचार र दण्डहीनता अन्त्य हुनुपर्नेमा जोड दिए ।

‘बाटो बिराएको राजनीति’ पुस्तकका सर्जक कांग्रेस नेता घिमिरेले अहिले पार्टीको नेतृत्व गर्ने नेताको खोजी भइरहेको धारणा राखेका थिजए ।

हालैको निर्वाचनबाट युवाहरू निर्वाचित भएको उल्लेख गर्दै उनले अब युवा नेताहरूले उपलब्धिमूलक काम गर्नुपर्नेमा जोड दिए ।

63
Shares
२० मंसिर २०७९, मंगलवार १७:४२