दिवंगत उषा राई ।
विराटनगर । सुनसरीको धरान–१३ की उषा राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पछिल्लो पटक पक्राउ पर्ने रत्ना लिम्बू हुन् ।यसअघि मुख्य आरोपी भनिएकी उर्मिला राईसहित सुसेली राई र सुमित्रा राईलाई पक्राउ गरिसकिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठले बताए ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।आरोपितमध्ये अरु दुईजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गत कात्तिक ३ गते आरोपीमध्ये उर्मिला राईले शङ्काको भरमा आफन्त र केही महिलाहरू मिलेर राईलाई कुटपिट गरेका थिए ।पिटाइले सिकिस्त घाइते भएकी उषालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । केही दिन उपचार गरी डिस्चार्ज भएर उनी घर गएकी थिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि फेरि प्रतिष्ठानमै भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंसिर १३ गते मृत्यु भएको थियो ।
दुई नाबालक छोरीसहित डेरा गरेर बस्दै आएकी धनकुटा घर भएकी उषा सिलाइकटाइको काम गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् ।
पतिको मृत्युपछि उनले नाबालक छोरीहरुको लालनपालन गरिरहेकी थिइन् । उनी पनि बितेपछि अब ती नाबालिकाहरुको बिचल्ली हुने भएको छ ।