कतारमा जारी फिफा विश्वकप फुटबलमा आफ्नो ध्यान व्यक्तिगत पुरस्कारमा भन्दा विश्वकप उपाधिमा केन्द्रित भएको उनको भनाइ छ ।
फ्रान्सले प्रि–क्वाटरफाइनलमा आइतबार राति पोल्यान्डलाई ३–१ गोलले हराएर क्वाटरफाइनलमा स्थान बनाएको थियो । उक्त खेलपछि आयोजित पत्रकार सम्मेलनमा एमबाप्पेले आफ्नो एउटै लक्ष्य फ्रान्सलाई उपाधि दिलाउनु भएको बताएका हुन् ।साबिक विजेता फ्रान्स अहिले कतारमा आफ्नो अब्बल प्रदर्शन गरिरहेको छ ।
प्रि–क्वाटरफाइनलमा फ्रान्सले पोल्यान्डलाई हराउँदा एमबाप्पेले दुई गोल गरेका थिए । अर्को गोल ओलिभर गिरोडले गरेका थिए ।ओलिभरको गोलमा पनि एमबाप्पेले पास दिएका थिए । विश्वकपमा पाँच गोल गरिसकेका एमबाप्पेले गोलका लागि दुई ‘एसिस्ट’ गरेका छन् ।
२३ वर्षीय एमबाप्पे यो विश्वकपमा गोल्डेन बुटको दाबेदार हुन् । तर, आफू गोल्डेल बल र बुट लिन कतार नआएको प्रतिक्रिया दिएका थिए ।
‘‘हामीलाई अगाडि बढ्न क्वाटरफाइनल झनै महत्त्वपूर्ण छ । म त्यसैमा केन्द्रित हुनेछु । मैले व्यक्तिगत उपाधि जित्नेभन्दा विश्वकप उपाधि रक्षा गर्ने सपना देखेको छु’ उनले भनेका छन् ।
फ्रान्स उपाधिभन्दा धेरै टाढा रहेकोले अझै मिहेनत गर्नुपर्ने पनि उनको भनाइ थियो । सन् १९९८ र २०१८ को विश्वकप उपाधि चुमेको फ्रान्सले क्वाटरफाइनलमा शुक्रबार राति सन् १९६६ को विजेता इङ्ग्ल्यान्डको सामना गर्नेछ ।
इङ्ग्ल्यान्डले प्रि–क्वाटरफाइनलमा सेनेगललाई ३–० गोलले हराउँदै फ्रान्ससँगको भेट पक्का गरेको हो ।