मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाइनु पर्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।
केही दिनअघि स्थलगत निरीक्षण सिन्धुपाल्चाेक मा पुगेका सिंहले यस विषयमा सरकारको भूमिका प्रभावकारी रहनुपर्ने माग गरेका छन् । उनले मेलम्चीको खानेपानीको विषयलाई लिएर सरकारले तत्कल कदम चाल्नुपर्ने आवश्यकताबारे जानकारी पनि गराएका छन् ।नेता सिंहले मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमीप्रति काठमाडौंवासी आभारी रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।
सिंहले मेलम्ची खानेपानीका विषयमा सरकारले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे बुँदागत रूपमा सुझाव पनि दिएका छन् । तत्काल गर्नुपर्ने काममा आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने, मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने, सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने, वर्षैभरी पानी पठान्तरणका लागि फास्ट ट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने र कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।यस्तै, दीर्घकालीन रूपमा गर्नुपर्ने काममा बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरि पेश गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अगाडी बढाउनुपर्ने, अहिले खानेपानीको इन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा इन्टेक बनाउनुपर्ने, मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने, मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने उल्लेख गरेका छन् ।
छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन् ।
उनले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी काठमाडौंमा ल्याउन काम गर्नु पर्ने आवश्यक रहेको बताएका छन् ।
