विराटनगर । सर्जकहरुले सञ्चालन गरेको ‘यात्रासँगै सिर्जना’ अभियानले पचासौँ शृङ्खला पूरा गरेको छ । विभिन्न स्थान पुगेर सिर्जना गर्ने, साहित्यसम्बन्धी अन्तरक्रिया गर्नेजस्ता काम यो अभियानका क्रममा गर्ने गरिएको छ।

मोरङको केराबारीस्थित सार्वजनिक माध्यमिक विद्यालयमा सर्जकहरु भरत गुरागाईँ बर्बरिक, प्रिन्स प्रमोद ढकाल र विनोद विवश घिमिरेले साहित्य सन्दर्भमा उत्प्रेरणा कक्षा सञ्चालन गरेर पचासौँ शृङ्खलाको समापन गरेका हुन् ।

कार्यक्रममा विद्यालयका शिक्षक एवं सर्जक नवीन थापा क्षेत्रीले सूत्रधारको भूमिका निर्वाह गरेका थिए ।

विद्यालयका कक्षा ९,१०,११ र १२ का करिब १५० विद्यार्थीहरुमाझ दुई घन्टा कार्यक्रम सञ्चालन गरिएको थियो ।

विद्यार्थीहरुले गीत, कविता र मुक्तक वाचन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक विश्वनन्द राजवंशीको संयोजनमा भएको सिर्जनात्मक कार्यक्रममा कवि खेमराज आचार्य, शिक्षक डेभिड घिमिरे, खड्ग राईलगायतको सहभागिता थियो ।

सर्जकहरुको टोली भैरहवा, इलाम र भोजपुर जाने योजना बनिरहेको अभियानका संयोजक बर्बरिकले बताए ।

28
Shares
१९ मंसिर २०७९, सोमबार ०७:५२