पाेर्चुगललाई २-१ अन्तरले पराजित गरेपछि दक्षिण काेरियाका खेलाडीहरू।

काठमाडौं । कतार विश्वकप फुटबलको समूह चरण शुक्रबार रातिका खेलसँगै समाप्त भएको छ । समूह चरणको समाप्तिसँगै अन्तिम सेकेन्डसम्म खेलमा रोमाञ्चक रहँदा केही शक्तिशाली मानिएका टिम प्रतियोगिताबाट बाहिरिए।

केही टिमले इतिहास रचे भने कुनै पनि टिमले शतप्रतिशत अर्थात् ३ खेलमै जित निकाल्न सकेनन् ।

कतार विश्वकपमा २०२२ मा पहिलोपटक एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् । विश्वकपको इतिहासमै पहिलो पटक एसियाबाट ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गर्दा ५० प्रतिशत टिमले नकआउटमा स्थान बनाएका हुन् ।

एकै संस्करणमा अहिलेसम्ममा तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाएको यो पहिलो पटक हो । एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले अन्तिम १६ मा पुगेका छन् ।

शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ को जित निकाल्दै नकआउट पुग्ने पछिल्लो टिम बन्यो। त्यसअघि अस्ट्रेलिया र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए ।

विश्वकप फुटबलको समूह चरणका अन्तिम खेलहरू रोमाञ्चक रहे। केही टिमका लागि भने निकै निराशाजनक यात्रा रह्यो। समूह चरणमा केही टिम जितेर पनि नकआउट पुग्न नसक्दा केही टिम हारेर पनि अन्तिम १६ मा पुग्न सफल भए ।

समूह चरणको अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग १(० ले पराजित भयो। तर फ्रान्सले अघिल्ला दुई खेलमा निकालेको जितका कारण नकआउटमा समूह विजेताकै रूपमा स्थान बनायो ।

यसैगरी, मेक्सिकोले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई २–१ ले पराजित गर्‍यो। तर नकआउटमा पुग्न सकेन् । पोल्यान्डसँग गोल अन्तरमा पछि रहँदा मेक्सीकोले नकआउट चरण गुमायो ।

यस्तै, जर्मनी पनि अन्तिम खेलमा जितका बाबजुत विश्वकपको समूह चरणबाटै घर फर्कियो। जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४–२ ले पराजित गरे पनि नकआउटमा पुग्न सकेन। किनकि जापानले स्पेनलाई २–१ ले हराउँदा जर्मनी अभागी सावित भयो ।

यस्तै, जितका बाबजुत अभागी सावित भएको अर्को टिम हो, उरुग्वे। उरुग्वेले अन्तिम खेलमा घानालाई २–० को अग्रता बनाउँदै नकआउट नजिक पुगेको थियो । तर इन्जुरी समयमा पोर्चुगललाई २–१ ले पराजित गर्न दक्षिण कोरिया सफल भएपछि घाना गोल स्कोरका आधारमा पछि रहँदै प्रतियोगिताबाट बाहिरियो।

यता अन्तिम खेलमा ब्राजिल पनि पराजित रह्यो। लगातार दुई खेलमा जित निकालेको ब्राजिल अन्तिम खेलमा क्यामरुनसँग १–० ले पराजित भयो । पराजयका बाबजुत ब्राजिल समूहको शीर्ष स्थानमा रहेर नकआउटमा पुग्यो ।

विश्वकप छनोटमा युरो च्याम्पियन इटाली प्लेअफबाटै घर फर्किँदा जति विश्व फुटबल जगत आश्चचर्यचकित बनेको थियो । विश्वकपको समूहचरणमा पनि केही यस्तै नतिजा निक्लियो ।

जर्मनी लगातार दोस्रो पटक समूह चरणबाट बाहिरिएको थियो । जबकि जर्मनीलाई उपाधि दावेदार टिमका रूपमा हेरिएको थियो ।

अर्को बेल्जियम पनि उपाधिका लागि दावेदार मानिएको थियो । तर, बेल्जियमको स्वर्णीम पुस्ताले पनि समूह चरण पार गर्न सकेन् । फिफा वरियतामा दोस्रो स्थानमा रहेको बेल्जियम नकआउटमा पुग्न असफल बन्यो।

त्यस्तै, ६४ वर्षपछि विश्वकपमा छनोट भएको वेल्सलाई पनि उसको समूहमा नकआउट पुग्ने दाबेदार मानिएको थियो । समूह ‘बी’ बाट वेल्स पुछारमा रहेर यात्रा टुंग्याउन बाध्य भयो ।

यता दुई पटकको विश्व च्याम्पियन उरुग्वे पनि समूह चरणबाटै बाहिरियो । उरुग्वेलाई पनि नकआउट दाबेदार मानिएको थियो । तर, उरुग्वे ३ खेलमा ४ अंकमात्र बनाउन सक्यो । अन्तिम खेलमा जितका बाबजुत दक्षिण कोरियासँग गोल स्कोरमा पछि रहँदै प्रतियोगिताबाट उरुग्वे बाहिरिएको हो ।

विश्वकपको समूह चरणमा कुनै पनि टिमले शतप्रतिशत जितको नतिजा निकाल्न सफल रहेनन् । समूह चरणमा कुनै पनि टिमले ९ अङ्क बनाउन सकेनन् ।

तीन टिमले ७ अङ्क बनाएर अपराजित रहे । जसमा नेदरल्यान्ड, इंग्ल्यान्ड र मोरक्को छन् । तीनै टिमले ७ अङ्क बनाएका छन् । अमेरिका र क्रोएसिया दुई बराबरी र एक जितसहित अपराजित रहे । बाँकी सबै टिमले कम्तीमा एक खेल गुमाउन पुगेका थिए ।

98
Shares
१७ मंसिर २०७९, शनिबार १२:५४