काठमाडौं । नेपालमा सुनकाे अत्यधिक खपत हुने महिना हाे मंसिर । बिहेकाे सिजन मानिने मंसिरमा नै नेपाली बजारमा सुन महँगिएकाे छ ।

निरन्तर उकालो लागिरहेको सुनकाे भाउ शुक्रबार ताेलामा एक हजार बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएकाे छ ।

प्रतिताेला एक लाख रुपैयाँ नजिक पुगेको सुनकाे मूल्य मंगलबारदेखि निरन्तर उकालाे लागिरहेकाे छ ।

मंगलबारयताको ट्रेन्ड हेर्ने हो भने सुन तीन दिनमै एक हजार सात सय रुपैयाँले बढेको छ । एक सातामा सुनको मूल्य एक हजार ३ सय रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ । मंसिर लागेदेखि यताको ट्रेन्डलाई पछ्याउने हो भने सुनको मूल्य तोलामा ११ सय रुपैयाँले महँगिसकेको छ ।

महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजारले वृद्धि भएकाे हाे । बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधबारकाे तुलनामा बिहीबार सुन पाँच सय रुपैयाँले महँगिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बन्दै जाँदा र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धिदरलाई घटाउने संकेत दिएपछि सुनको भाउ बढेको विश्लेषण छ ।

बिहेको सिजन भए पनि सरकारले सुन आयातमा भने कडाइ गरिरहेको छ । विगतमा बिहेको सिजनमा दैनिक २०-२५ किलो सम्मको आयात अनुमति दिने गरेको राष्ट्र बैंकले यसपाली १० किलोभन्दा बढी सुन आयात गर्न दिएको छैन ।

शोधनान्तर चाप बढ्दै गएपछि सरकारले सुन आयातमा कडाइ गर्दै आएको छ । बिहेको सिजनमा बजारमा दैनिक ५० किलोसम्म सुनको माग रहेको व्यवसायीको भनाइ छ ।

35
Shares
१६ मंसिर २०७९, शुक्रबार १३:१४