विराटनगर । नेपाल वायु सेवा निगमले विराटनगरबाट ताप्लेजुङका लागि बिहीबार परीक्षण उडान गरेको छ । १४ वर्षअघि निगमले यो रुटमा नियमित उडान गर्ने गरेको थियो ।

काठमाडौंबाट यात्रु लिएर ताप्लेजुङ पुगेको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको ताप्लेजुङस्थित निगमका स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बुले बताए ।

वरिष्ट पाइलट पेम्बा शेर्पा र मनिष विष्टले उडान गरेको निगमले जनाएको छ । परीक्षण उडान गरिए पनि नियमित उडान हुने, नहुनेबारे केही जानकारी गराइएको छैन ।

नियमित उडान निरन्तर हुन सके विराटनगर र आसपास क्षेत्रबाट पाथिभरा दर्शनका लागि आउने साथै अन्य कामले आउने यात्रुहरुलाई सुविधा हुने ताप्लेजुङको फुङलिङकी छाया अधिकारीले बताइन् ।

यसैगरी विभिन्न कामले अन्यत्र जानुपर्ने ताप्लेजुङका बासिन्दाका लागि पनि यात्रा सहज हुने उल्लेख गर्दै उनले ताप्लेजुङ आउने पर्यटकहरुका लागि पनि नियमित उडान आवश्यक रहेको बताइन् ।

२०३२ सालमा निर्माण भएको विमानस्थलमा २०६५ सालसम्म विराटनगर–ताप्लेजुङमात्रै उडान हुँदै आएको थियो ।

काठमाडौं–ताप्लेजुङ उडान गर्न थालेपछि निगमले विराटनगर उडान स्थगित गरेको थियो ।

बिहीबार र शनिबार गरी सातामा दुई दिन काठमाडौं ताप्लेजुङ उडान गर्दै आएको निगमले विराटनगरका लागि नियमित तालिका भने बनाएको छैन ।

काठमाडौं–ताप्लेजुङ, ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान गरेको तारा एयरले गत वर्षदेखि नियमित नगरेका कारण यात्रुहरुले स्थलमार्गबाट यात्रा गर्नुपर्ने बाध्यता छ ।

119
Shares
१५ मंसिर २०७९, बिहीबार १७:४८