बिहिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नबुझ्नेले मात्रै नेपालको अर्थतन्त्र संकटमा रहेको बताउने गरेको बताएका छन् ।
मुलुकको अर्थतन्त्र संकटमा छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिन अर्थशास्त्री, व्यवसायी र राजनीति व्यक्तिहरुलाई मन्त्री शर्माले आग्रह गरेका छन् ।निजी क्षेत्र र अर्थशास्त्रीलाई देशको अर्थतन्त्र संकटमा परेको प्रमाण देखाउन चुनौती दिएका मन्त्री शर्माले अर्थतन्त्र संकटमा नभएको दाबी गर्दै चुनौतिका विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।
सरकारको काम गर्ने क्षमता बढ्न नसक्दा संकट भएको भन्दै उनले सरकारले क्षमता बढाउन आवश्यक रहेको जिकिर गरे ।नेपालको अर्थतन्त्र एकै पटक तल जाने वा एकैपटक माथि जाने खालको नभएको दाबी गर्दै मन्त्री शर्माले नेपालको अर्थतन्त्रका सूचकहरु क्रमिक रुपमा सुधार हुँदै गएको र अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका छन् । उनले खुला सीमानाका करण राजश्व घटेको भन्दै खुला नाका व्यवस्थित बनाउनुपर्ने बताए । निर्वाचनका कारण सरकारले ध्यान दिन नसकेको खुला नाकालाई व्यवस्थित बनाउने विषयमा आउँदो समय विशेष ध्यान दिइने उनको भनाइ छ ।
भौतिक पूर्वाधारमा लगानी बढाउन सके देशका विभिन्न स्थानलाई काठमाडौंसँग जोडन सक्ने र लगानीको वातावरण सहज बनाउन सक्ने हुदा पूर्वाधार विकास गर्न आवश्यक रहेको उनले बताए । आर्थिक विकासमा गुणात्मक छलाङ ल्याउने क्षेत्र पहिचान गरी हरेक नागरिकको क्षमता विकास र रोजगारको सिर्जना गर्नुपर्ने अवस्था रहेको मन्त्री शर्माले बताएका छन् ।
नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेको भन्दै मन्त्री शर्माले नेपालले क्षमता वृद्धि गर्दै प्रविधि, कृषि तथा पर्यटनमा युवाको रोजगारी बढाउने कुरामा जोड दिएका छन् । मन्त्री शर्माले निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दिएको भन्दै अवसरलाई व्यर्थ जान नदिने प्रतिबद्धता जनाए ।