गगन नुनिया/विराटनगर

दृश्य एक

रमैयाराम विराटनगरका स्थानीय हुन् । मेनरोडस्थित नेपाल बैंक लिमिटेड अगाडिको सडकमा आफ्नो स्कुटि पार्किङ्ग गर्दै गर्दा भेटिएका उनी भुनभुनिरहेका थिए । कारण थियो– पार्किङ्गका लागि स्थान नहुनु । जबरजस्ती फुटपाथमा पार्किङ्ग गरिरहेका उनी महानगरले पार्किङ्ग स्थलको व्यवस्था नगर्दा दुःख पाउने गरेको बताइरहेका थिए ।

दृश्य दुई

जनकपुर घर भएका एकजना युवा कहिलेकाकाहीँ विराटनगरमा कपडालगायत सामग्री किन्न आउने गरेका छन् । साथीसँग स्कुटीमा आएका उनलाई पार्किङ्ग गर्ने ठाउँ खोज्दै पुगे दाज्जु चिया पसल, तपरी चिया पसल, चियावाला जस्ता पसल तथा रेस्टुरेन्टहरुमा । तर पार्किङ्ग सुविधा पाएनन् । अनि उनले पनि फुटपाटमै बाइक पार्क गरे ।

दृश्य तीन

महानगरपालिकाले छुट्याएको बाइकको पार्किङ्ग स्थलछेउमै सिटी रिक्सा चाकलहरुले पार्किङ्ग गरेका छन् । पार्किङ्गको बेग्लै स्थान नछुट्याइएकाले सिटी रिक्साहरु अव्यवस्थित रुपमा राखिएका छन् ।

महानगरमा लामो समयदेखि रहेको पार्किङ समस्या समाधान हुन नसक्दा अस्तव्यस्त हुने अवस्था छ । साँघुरो सडक भएकाले सडकको एकातिर पार्किङ गरेर राख्दा झनै अप्ठ्यारो पर्ने गरेको छ ।

प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार विराटनगरमा पार्किङ्गको समस्या छ । ‘महानगर कुनै निश्चित स्थानमा पाकिङङ्गको व्यवस्था गर्न असफल भएको छ । पुरानो गुदरीमा अस्थायी पार्किङ्ग छ, यो पर्याप्त होइन’ उनले भने ।

हनुमान मन्दिरको पछाडि, राम जानकी मन्दिर जाने सडकको एकापटि पनि सवारी साधनहरु पार्किङ गर्ने गरिएको छ ।

‘मुख्य बजारको सडक र राजमार्गको एकातिर गाडीहरु राख्न मिल्छ’ उनले भने ‘बाइक, अटो रिक्सा, साइकल, भ्यान जस्ता सवारीहरुको पार्किङ्ग व्यवस्थित गराउन महानगरले ध्यान दिनुपर्छ ।’

नगर प्रहरीका निरीक्षक राजन पौडेलका अनुसार विराटनगरको बुधहाट चोकमा निःशुल्क पार्किङ्गको व्यवस्था छ ।

‘महानगरले सिटी सफारीलाई पार्किङ्ग उपलब्ध गराएको छैन,’ उनले भने ‘विराटनगरका भित्री खाली रहेका जग्गा लिजमा लिएर व्यवस्था मिलाउने छौं ।’

विराटनगर प्रदेशको १ को राजधानी भएका कारण पनि सवारी साधनको चाप बढेको छ । प्रदेशको चुनाव अगाडि फुटपाथमा गाडी पार्क गर्नेहरुलाई जरिवाना गरिएको उनले बताए ।

महानगरका प्रवक्ता सन्तोष न्यौपाने महानगरले महेन्द्र चोक छेउ पार्किङ्गको सुविधा उपलब्ध गराए पनि विभिन्न कारणले सफल नभएको बताउँछन् ।

नगरपालिका, ट्राफिक प्रहरी, यातायात क्षेत्रका प्रतिनिधि सबैसँग समन्वय गरेर पार्किङ व्यवस्थित पार्ने तयारी भइरहेको उनले बताए ।

‘महानगरले कन्चनबारी, बरगाझी र महेन्द्र चोक आसपास ट्राफिक लाइटको व्यवस्था गरी पार्किङ्गको सम्सयालाई समाधान गर्ने लक्ष्य लिएको उनले बताए ।

14
Shares
१५ मंसिर २०७९, बिहीबार १६:००