विराटनगर । महिलाहरुको समूहले कुटपिट गर्दा सुनसरीको धरानमा एकल महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १३ मा बस्दै आएकी ४२ वर्षीया उषा राईको मृत्यु भएको हो ।

उनी स्थानीय आमा समूहका पदाधिकारीको कुटाइबाट सिकिस्त घाइते भएकी थिइन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै गर्दा उनको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

गाउँलेहरुका अनुसार ‘परपुरुषसँग सम्बन्ध राखेको’ भनेर उनलाई आमा समूहका पदाधिकारीले आरोप लगाउँदै आएका थिए ।

त्यसरी आरोप लगाउनेमा जनजागृति आमा समूहका पदाधिकारी रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

हत्या आरोपमा ६ जनाविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। आरोपीहरु फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।

दुई नाबालक छोरीसहित डेरा गरेर बस्दै आएकी धनकुटा घर भएकी उषा सिलाइकटाइको काम गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् ।

पतिको मृत्युपछि उनले नाबालक छोरीहरुको लालनपालन गरिरहेकी थिइन् । उनी पनि बितेपछि अब ती नाबालिकाहरुको बिचल्ली हुने भएको छ ।

140
Shares
१४ मंसिर २०७९, बुधबार १७:४४