पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मंगलबार राति १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर साइकलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका पथरीशनिश्चरे नगरपालिका–१० का ४३ वर्षीय युवराज खत्रीको मृत्यु भएको हो ।
पहिचान नखुलेको सवारीसाधनले राति ९ः३० बजेतिर ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए । उद्धार गरेर उपचारका लागि पथरी अस्पताल पुर्याइएका उनलाई राति १०ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटना गराउने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै मेची लोकमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा ट्रकको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ । प्रदेश १–०१–००१ ख ३८४४ नम्बरको ट्रकले ठक्कर दिँदा मेचीनगर–१२ का ७० वर्षीय जगतमान साँवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाटो क्रस गर्दैगर्दा दिउँसो ४ः१० बजेतिर ट्रकले साँवालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।ट्रक र चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ का ३६ वर्षीय नरेन्द्रकुमार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।