काठमाडौं । दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ ।

प्रतियाेगिता अखिल नेपाल टेबल टेनिस संघकाे आयोजनामा मंसिर २२ देखि २५ गतेसम्म लौनचौरस्थित प्रशिक्षण केन्द्रमा हुन लागेकाे हाे ।

नेपालमा पहिलाे पटक आयोजना हुन लागेकाे प्रतियाेगिताकाे तयारी भइरहेकाे  संघका अध्यक्ष चतुरानन्दराज वैद्यले बताए ।

‘नेपालमा हुने निर्णयसँगै हामीले अन्तिम तयारी गरिरहेको छौँ’ चन्दले भने, ‘प्रतियोगितामा नेपालसहित ६ राष्ट्रको सहभागीता रहनेछ । भुटानसँग पनि सल्लाह भइरहेको छ ।’

यस प्रतियोगिता ६० भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिताको निर्देशक शंकर गौतमले  बताए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताबाट पाँच–पाँच महिला तथा पुरुष खेलाडी छनोट हुनेछन् । छनोट हुने खेलाडी एसियन च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन् । यसबाट छनोट हुने खेलाडी विश्व च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन् ।

विश्व टेबल टेनिस च्याम्पियनसिप क्षेत्रीय छनोटका रूप काठमाडौंमा हुन लागेको प्रतियोगितामा नेपालको पुरुषतर्फ रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनिया र शिवसुन्दर गोथे सहभागी हुनेछन् । यसैगरी महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापामगर रहेका छन् ।

नेपाली टोलको मुख्य प्रशिक्षकमा संजीव ढुंगेल र सहायक प्रशिक्षकमा संजय अर्याल र सन्ध्या शाक्य छन् । ढुंगेलले मुख्य खेलाडी स्यान्टु श्रेष्ठ नहुँदा केही दबाब हुने भएपनि अन्य खेलाडी क्षमतावान् भएको बताए ।

14
Shares
१३ मंसिर २०७९, मंगलवार १५:५३