बुटवल । नेकपा (एमाले)को अबको लक्ष्य मुलुकलाई नेतृत्व प्रदान गर्नु रहेको उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले सोमबार बिहान बुटवलमा सञ्चारकर्मीहरुमाझ संक्षिप्त कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने जिकीर गरे ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ आफ्नो पार्टी निर्वाचनमा गएपनि सोही अनुसारको जनादेश प्राप्त हुन नसकेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले प्राप्त जनादेशको सम्मान गर्दै अघि बढ्ने स्पष्ट पारेका छन् ।

राष्ट्रलाई अघि बढाउने सन्दर्भमा एमालेले संघीय संसद र प्रदेशसभामा सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको उनले बताए ।

उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै समृद्धिका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सबै राजनीतिक पार्टीहरुको सुझाव लिएर अघि बढ्ने उनले बताए ।
3
Shares
१२ मंसिर २०७९, सोमबार १२:१७