विराटनगर । अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचिन दुईजना महिला थिए । यसपटक महिलाको संख्या बढ्न सकेन । आमनिर्वाचन २०७९ अन्तर्गत प्रदेश १ को प्रदेशसभा सदस्यका लागि ७ जना महिला उम्मेदवार थिए । उनीहरुमध्ये दुईजना मात्र विजयी बनेका छन् ।

झापा क्षेत्र नम्बर १ (ख) बाट राप्रपाकी सविना बजगाईं विजयी बनेकी हुन् भने इलाम १ (क) बाट नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बू निर्वाचित भएकी छन् ।

बजगाई माओवादी केन्द्रका उम्मेदवार श्यामवीर लिम्बूलाई पराजित गर्दै प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन् ।

प्रदेश सरकारमा पर्यटन तथा संस्कृति मन्त्री रहेकी लिम्बू एमालेकी शोभा पराजुलीलाई पराजित गर्दै प्रदेशसभा सदस्य विजयी बनेकी हुन् ।

एमाले, माओवादी र एकीकृत समाजवादीले २–२ जना तथा राप्रपाले एक महिलालाई प्रदेशसभामा उम्मेदवार बनाएका थिए । कांग्रेसबाट भने महिला उम्मेदवार प्रतिस्पर्धामा थिएनन् ।

सुनसरीका ८ सिटमध्ये ३ (क) मा माओवादीबाट उम्मेदवार बनेकी प्रदेशसभाका पूर्वउपसभामुख सरस्वती पोख्रेल एमालेका रोहित कार्कीबाट पराजित भएकी छन् ।

मोरङ क्षेत्र नम्बर ६ (क) मा एमालेकी रीता न्यौपाने माओवादी केन्द्रका जीवन आचार्यसँग पराजित भएकी छन् ।

माओवादीकी कुसुमकुमारी श्रेष्ठ धनकुटा (ख) मा एमालेका इन्द्रमणि पराजुलीसँग पराजित भएकी छन् । उनी अघिल्लो प्रदेशसभामा समानुपातिकतर्फबाट सदस्य थिइन् ।

नेकपा (एकीकृत समाजवादीकी सरिता थापा संखुवासभामा एमालेका बिदुर लिंधेपसँग पराजित भएकी छन् ।

प्रदेशसभा सदसयका लागि तेह्रथुम, भोजपुर, उदयपुर खोटाङ, सोलु, ओखलढुंगा, पाँचथर र ताप्लेजुङमा महिला उम्मेदवार थिएनन् ।

२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ इलामकी खिनु लङ्वा र उदयपुरकी कला घले निर्वाचित भएका थिए । समानुपातिकबाट प्रदेशसभामा ३० जना महिला सदस्य थिए ।

77
Shares
११ मंसिर २०७९, आईतवार ०५:५१