काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चनको आवाज र तस्बिर अनधिकृत रुपमा प्रयोग प्रतिबन्ध लगाइएको छ । दिल्ली उच्च अदालतले शुक्रबार आदेश दिंदै उनको आवाज र तस्बिर जथाभावी प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

अदालतको यो आदेशपछि अब कसैले अमिताभसँग मिल्दोजुल्दो कुनै अन्य विशेषतासमेत प्रयोग गर्न पाउने छैनन् ।

अमिताभले व्यक्तित्व अधिकारको सुरक्षाका लागि दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले ‘केबीसी लटरी’ मा संलग्नहरू सहित अन्य धेरैले सेलिब्रेटीको रूपमा उनको प्रचार अधिकार को दुरुपयोग गरिरहेको आरोप लगाए ।

न्यायाधीश नवीन चावलाले उक्त आदेश दिएका हुन् । ‘अमिताभ बच्चन चर्चित नाम हो भन्नेमा कुनै शङ्का छैन । यो चरणमा उनलाई राहत नदिए अपूरणीय क्षति र अपमान हुनेछ’ उनले भनेका छन् ।

अदालतले टेलिकमका अधिकारीहरूलाई अमिताभको अधिकारको उल्लंघन गर्ने सामग्री दिने वेबसाइटलाई हटाउनका लागि कारवाही गर्न निर्देशन दिएको छ ।
7
Shares
९ मंसिर २०७९, शुक्रबार १६:०७