विराटनगर । मोरङमा मतगणनाको काम निकै ढिलो भइरहेको छ । सबैजसो निर्वाचन क्षेत्रमा खसेको मतको आधा पनि गणना भइसकेको छैन ।

मुलुकमै सबैभन्दा बढी मतदाता संख्या रहेको मोरङमा प्रतिनिधि सभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा क्षेत्र छन् । ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४ लाख ८५ हजार ३०८ (६५.९८ प्रतिशत) मत खसेको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान सकिएको ३ दिनभित्र प्रत्यक्षतर्फको गणना सकिने दाबी गरेका थिए ।

त्यसको ५ दिनभित्र समानुपातिकतर्फको गणना सकिने दाबी आयोगको थियो । आयोगकै निर्देशनअनुसार प्रत्यक्ष र सामुपातिकतर्फको गणना एकैपटक गरिएकाले ढिलाइ भइरहेको छ ।

यही कारण गणनामा ढिलाइ भएजस्तो देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालय, २ को रतुवामाई नगरपालिकाको विश्वनाथ मन्दिर र ३ को बेलबारी नगरपालिकाको भगवती माध्यमिक विद्यालयमा गणना भइरहेको छ । क्षेत्र ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श विद्यालयमा भइरहेको छ ।

क्षेत्र नम्बर १ मा ७५ हजार ३७०, २ मा ८० हजार ४०३, ३ मा ९६ हजार ७२६, ४ मा ७४ हजार ७४३, ५ मा ७२ हजार २२९ र ६ मा ८५ हजार ८३७ मत खसेको थियो ।

गणनामा ढिलाइ हुँदा विद्यालयको पठनपाठनमा असर परिरहेको छ । यो समाचार तयार पार्दासम्म प्रदेशसभातर्फ मोरङको निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ को मात्रै अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका गयानन्द मण्डल निर्वाचित भएका छन् ।

‘मतदानको दिन साँझ ५ बजेतिर गणनाका सवालमा निर्वाचन आयोगले नयाँ परिपत्र जारी ग¥यो । त्यसअनुसार प्रतिनिधि तथा प्रदेशसभातर्फको प्रत्यक्ष एवं समानुपातिक मत एकैपटक गणना गर्नुपर्ने अवस्था आयो,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले भने, ‘सुरुमा प्रत्यक्षतर्फको मात्रै गणना गर्ने गरी तयारी थालिएको थियो । पछि समानुपातिकको पनि गणना गर्नुपर्ने भएपछि व्यवस्थापनमा केही समय लाग्यो ।’

अर्कोतर्फ मतदान सकिएकै रातिबाट गणना सुरु हुन सकेन । मतदानको भोेलिपल्ट दिउँसोदेखि मात्रै गणना सुरु गरिएकाले पनि केही ढिलो भएजस्तो देखिएको उनले बताए ।

‘मतदान सकिएको भोलिपल्ट मात्रै गणना सुरु भयो,’ बुढाथोकीले भने, ‘विभिन्न क्षेत्रमा गणना फरकफरक तरिकाले सुरु भए ।’ आयोगको पछिल्लो परिपत्रले तयारीमा समय लाग्दा गणना नै ढिलो सुरु भएको उनको भनाइ छ ।

उनका अनुसार कतिपय ठाउँमा देखिएका सामान्य समस्यामा दलहरुबीचमा सहमति जुट्दैन । गणना जारी रहेका बेला सानो विषयमा दलका प्रतिनिधि सहमत हुन नसक्दा गणना गर्दागर्दै रोक्नुपर्ने अवस्था आउने गरेको बुढाथोकीले बताए । सुस्त हिसाबले अघि बढिरहेको गणनालाई थप व्यवस्थित र चुस्त बनाउने काम भइरहेको उनको भनाइ छ ।

उनका अनुसार प्रत्यक्षतर्फको प्रतिनिधिसभाबाट सुरु गरेर प्रदेश हुँदै समानुपातिकतर्फको गणना गर्ने अभ्यास यसअघि थियो । त्यही अनुसार गणनास्थलको तयारी गरियो । तर मतदानको क्रममा एउटा पेटिकामा खसाल्नुपर्ने मत अर्कोतिर खसालेको पाइएपछि प्रत्यक्ष र समानुपातिकको गणना एकैपटक गर्ने निर्णय आयोगले लिएको बताइएको छ ।

गणनाको अन्तिम नतिजा आउन अझै ५ दिनभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । ‘प्रत्यक्षतर्फको मात्रै गणना गर्न पाएको भए बुधबार साँझसम्ममा परिणाम घोषणा हुने थियो,’ बुढाथोकीले भने, ‘तर समानुपातिक पनि सँँगै गन्नुपर्ने भएपछि गणना सम्पन्न गर्न केही दिन समय लाग्ने भयो ।’ उनका अनुसार एउटा कोठामा एक सिफ्टमा ५ जना कर्मचारी गणनाका लागि खटाउने गरिएको छ ।

14
Shares
७ मंसिर २०७९, बुधबार १६:४४