मुस्ताङ, मनाङ र काठमाडौंमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ ।
मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन् । उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पाएको टिकटबाट लडेका थिए ।कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्व राज्यमन्त्री हुन् । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी बनेका छन् ।
नेकपा एमालेले ललितपुरबाट जितको खाता खोलेको छ । ललितपुर क्षेत्र नं २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका हुन् । उनले १५ हजार २५ मत प्राप्त गरे ।निर्वाचन आयोगका अनुसार हालसम्मको गणनाअनुसार कांग्रेस ४६ स्थानमा अग्रतासहित अगाडि छ । एमाले ३१, माओवादी १२, राष्ट्रिय प्रजातन्त्र पार्टी ९ अग्रस्थानमा छन् ।
नेकपा माओवादी केन्द्र ९ स्थानमा र अन्य १९ स्थानमा अग्रता कायम गरेका छन् ।