देशका अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि ५ बजेसम्म मतदान स्थलभित्र प्रवेश गरिसकेका मतदाताहरुले भने मतदान गर्न पाउने छन् ।
कतिपय मतदान केन्द्रमा मत खसाल्नका लागि अझैपनि मतदाता लाइनमै बसिरहेका छन् । केही मतदान केन्द्रमा मतदाताले मत हालिसक्दा निक्कै अबेर हुने अनुमान गरिएको छ । केही मतदानस्थलमा विवादका कारण रोकिएकाले ती स्थानमा मतदान गराउने प्रयास जारी छ ।दोलखा, बाजुरा, सिरहा, नवलपरासी लगायतका स्थानमा मतदान रोकिएको छ । ती स्थानमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ । केही ठाउँमा मतपत्र फरक पर्दा केहीबेर मतदान रोकिएको थियो ।
मतदान सम्पन्न भएका स्थानबाट मतपेटिका संकलनको काम जारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने जानकारी दिए ।दुर्गम हिमाली क्षेत्रका जिल्लाबाट भने मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले सोमबारदेखि मात्रै मतदान गर्ने तयारी आयोगले गरेको छ । दुर्गम स्थानका जिल्लाहरुमा हेलिकोप्टरबाट मतपेटिका संकलनको व्यवस्था मिलाइएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदान सम्पन्न भएका ठाउँको मतपेटिका संकलनको काम भइरहेको जानकारी दिए । ‘केही मतदान केन्द्रमा अझैपनि मतदाता लाइनमा छन् । लाइनमा रहेकालाई मतदान गर्न दिइने छ,’ उनले भने, ‘मतदान सकिएका ठाउँमा भने मतपेटिका संकलनको काम थालिएको छ । संकलनपछि मतपेटिका सुरक्षितसाथ गणनास्थलमा ल्याइने छ ।’