गगन नुनिया

जिल्ला प्रशासन कार्यालय माेरङकाे छेवैमा छ शहीद रंगशाला। रंगशालाकाे मुख्य प्रवेशद्वार अगाडिकाे बाटाे हुँदै पाँच मिनेटकाे यात्रा गरे पछि पुगिन्छ आदर्श बालिका माध्यमिक विद्यालय ।

विराटनगर महानगरपालिका–७ मा रहेकाे याे विद्यालयमा यतिबेला चुनावी तयारी भइरहेकाे छ । भाेलि अर्थात ४ मंसिरमा हुने संसदीय निर्वाचनकाे तयारीका लागि निर्वाचन आयाेगबाट खटिएका कर्मचारी मतदान केन्द्र व्यवस्थापनमा व्यस्त छन् । याे समयमा कर्मचारी व्यवस्थापनमा व्यस्त हुनु स्वभाविक हाे तर विद्यालयमा देखिएकाे फरक दृश्य व्यवस्थापनमा खटिएका सबै कर्मचारी ‘महिला’ मात्र हुनु हाे । मतदानस्थलमा खटिएका मतदान अधिकृतदेखि सुरक्षाकर्मी सबै महिला हुन् ।

प्रतिनिधिसभा क्षेत्र नं ६ र प्रदेशसभा ६ (ख) मा पर्ने उक्त स्थानमा रहेको मतदानस्थलमा तीन मतदान केन्द्र छन् । यसमा आवश्यक पर्ने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयाेगी कर्मचारी र सुरक्षाकर्मी गरी कुल ३७ कर्मचारी छन् । ३७ सबै महिला हुन् । मतदान गर्न पुरुष मतदाता पनि आउने भएकाले त्यसकाे सहजीकरणका लागि दुई प्रहरी र दुई म्यादी गरी चार पुरुष सुरक्षाकर्मी मतदान स्थानमा थपिएका छन् ।

३७ सदस्यीय कर्मचारीको टोली मतदान स्थलमा मतदान गर्न आउने दुई हजार चार सय ७६ मतदातालाई शान्त र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउने योजनामा छ।

तीन मतदान केन्द्रमध्ये ‘क’काे मतदान अधिकृत दीपिका खड्गी  हुन्। ‘ख’काे कमान्ड समीक्षा पाेखरेलले सम्हाल्दा ‘ग’ काे नेतृत्वमा सीमा यादव रहेकी छिन् ।

तीनै मतदान अधिकृतले महिला कर्मचारीकाे टाेलीभन्दा पनि निर्वाचन आयाेगकाे टाेली भएकाले आफूहरुलाई काम गर्न असहज नहुने बताएका छन् ।

‘हामी पुरुषकाे तुलनामा अझ बढी जिम्मेवार ढंगले काम गर्न सक्छाैँ, महिला मल्टिटास्किङ हुन्छन् भन्ने उदाहरण देखाउन चाहन्छाैँ’ एएमजी टाइम्ससँग उनीहरूले भनिन्, ‘भाेलि हुने मतदानकाे नतिजाले हाम्राे दाबी पुष्टि गर्नेछ ।’

महिलालाई समाजले हेर्ने नजरमा परिवर्तन ल्याउन आफूहरूकाे मंसिर ४ काे कामले प्रभावकारी भूमिका खेल्ने उनीहरूकाे अपेक्षा छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले आदर्श बालिका माविलाई नमुना मतदान केन्द्रका रूपमा प्रस्तुत गर्न महिला टाेलीलाई जिम्मेवारी दिइएकाे बताए ।

विगतका निर्वाचनमा महिला कमान्ड सशक्त देखिएका कारण यसलाई पुनः प्रयोग गरिएकाे उनले जानकारी दिएका छन् ।

मोरङमा ६ प्रतिनिधि र १२ प्रदेशसभा निर्वाचनका लागि तीन सय ६ मतदानस्थलमा आठ सय ३९ मतदान केन्द्रका लागि आठ सय ३९ मतदान अधिकृत र आठ सय ३९ सहायक मतदान अधिकृत गरी एक हजार ६ सय ७८ कर्मचारी खटिएका छन् ।

(प्रशिक्षार्थी)

35
Shares
३ मंसिर २०७९, शनिबार १८:३०