आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खटिएकी शिक्षिका ३५ वर्षीया पवित्रा याख्खा लिम्बूको शुक्रबार साँझ मृत्यु भएको हो । लिम्बू साँगुरीगढी गाउँपालिकास्थित सीतादेवी माध्यमिक विद्यालयमा कार्यरत थिइन् ।
उनलाई साँगुरीगढी–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटाइएको थियो । मतदान केन्द्रमा शुक्रबार आयोजित सर्वदलीय बैठकमा उनी सहभागी भएकी थिइन् ।मतदान अधिकृत प्रज्वल पोखरेलका अनुसार सर्वदलीय बैठक सकेर घर फर्किने क्रममा लिम्बू अचानक बेहोस भएर ढलिन् । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जानकारी पोखरेलले दिए ।
लिम्बूलाई उच्च रक्तचापको पुरानै समस्या थियो । त्यही कारण बेहोस भएर ढलेको र मृत्यु भएको हुनसक्ने बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।