विराटनगर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार मतदात हुँदैछ । आफ्नो मूल थलोबाट अन्यत्र पुगेका मतदाताहरु भोट हाल्नका लागि घर फकिएएका छन् । कतिपय फर्कने तयारीमा छन् । पाँच वर्षमा आएको यो अवसर सकेसम्म नछुटाउने धेरैको योजना छ ।

निर्वाचनमा प्रतिस्पर्धा गरेर संसद र सरकारमा पुग्ने योजनाका साथ सयौं नेताहरु चुनावी मैदानमा छन् । उनीहरुलाई चुनेर पठाउन हजारौं मतदाता भोट दिने तयारीमा छन् । तर अनौठो के छ भने कतिपय त्यस्ता उम्मेदवारहरुले आफैँलाई भोट दिन पाउने छैनन् ।

भोट दिन नपाउनेमा तीन वटा राजनीतिक दलका अध्यक्ष, विभिन्न दलका शीर्ष नेतादेखि अन्य उम्मेदवार छन् ।

प्रतिनिधिसभा सदस्यका उमेदवार एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले आफैँलाई भोट दिन पाउने छैनन् ।

ओलीको नाम भक्तपुरको बालकोटमा मतदाता नामावलीमा समावेश छ । उनी झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । त्यसैले उनले आफूलाई भोट दिन पाउने छैनन् ।

चितवन क्षेत्र नम्बर ३ मा मतदाता नामावली नाम भएका प्रचण्ड गोरखा २ बाट उम्मेदवार बनेका कारण उनले पनि आफैँलाई मत दिन नपाउने भएका हुन् ।

यसैगरी जनमोर्चा अध्यक्ष केसी बागलुङ १ बाट चुनावी मैदानमा छन् उनको मतदाता नामावली बागलुङ २ मा छ।

बागलुङ २ का माओवादी उम्मेदवार देवेन्द्र पौडेलको मतदाता नामावलीमा नाम पनि बागलुङ १ मा छ। सत्ता गठबन्धनको समर्थनमा उठेका केसी र पौडेल दुबैको विपरीत क्षेत्रमा नाम भएका कारण आफूलाई भोट दिन नपाउने भएका हुन् ।

काठमाडौँ क्षेत्र नम्बर २ की माओवादी उम्मेदवार ओनसरी घर्तीले पनि आफूलाई भोट दिन नपाउने भएकी छन् । घर्तीको नाम रोल्पा जिल्लाको माडीचौरमा छ।

निर्वाचन कानुनअनुसार मतदाता नामावलीमा नाम समावेश भएका क्षेत्रबाट मात्र मतदान गर्न पाउने व्यवस्था छ ।

त्यसैअनुसार मतदाताले निर्वाचनका दिन आफ्नो अधिकार प्रयोग गर्छन्। टिकट बाँडफाँट तथा आफ्नै रुचिका कारण आसन्न निर्वाचनमा केही नेताहरुको निर्वाचन क्षेत्र परिवर्तन भएको छ ।

निर्वाचन क्षेत्र परिर्वतन गर्ने अर्का उम्मेदवारमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण पनि हुन् ।

कर्ण पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् भने मतदाता नामावालीमा उनको नाम पर्सा–४ मा छ । सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवार मोहन बस्नेत पनि आफैलाई भोट दिनबाट बन्चित हुनेछन् । मतदाता नामावालीमा उनको नाम सिन्धुपाल्चोक १ मा छ।

निर्वाचन कानुन अनुसार मतदाता नामावली भएकै क्षेत्रमा मतदान गर्नुपर्ने हुँदा यी उम्मेदवारहरु आफैलाई भोट हाल्न नपाउने भएका हुन्।

मोरङ क्षेत्र नम्बर ४ का माओवादी उम्मेदवार अमनलाल मोदीले पनि आफैलाई भोट दिन पाउँदैनन् । मतदाता नामावलीमा उनको नाम मोरङ क्षेत्र नम्वर ६ मा छ। काठमाडौँ क्षेत्र नम्बर ५ मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको मतदाता नामावालीमा नाम तनहुँ–२ मा भएको कारण पौडेल पनि सोही दिन तनहुँ पुग्न असम्भव छ ।

मकवानपुर२ बाट उठेका एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाको मतदाता नामावलीमा नाम मकवानपुर १ मा छ । मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेतृ डिना उपाध्याय महालक्ष्मीको भोट दिने अधिकार भने क्षेत्र नम्बर २ मा छ ।

झापा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार अग्नि खरेलको मतदाता नामावलीमा नाम झापा–२ मा छ । झापा क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार कृष्ण सिटौलाको मतदाता नामावलीमा नाम क्षेत्र नम्बर १ मा छ । यस्तै झापा क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार यग पाठकको मताधिकार काठमाडौँ ८ मा छ ।

काठमाडौँ क्षेत्र नम्बर ६ का एमाले उम्मेदवार सर्वेन्द्र खनालको मतदाता नामावलीमा नाम काठमाडौँ ५ मा छ ।

कानून बनाउने तहका जनप्रतिनिधि छान्ने भएकाले फरक निर्वाचन क्षेत्र भए पनि खासै फरक नपर्ने उम्मेदवारहरु बताउँछन् ।

प्रदेश सभा सदस्यका केही उम्मेदवारको अवस्था पनि यस्तै छ।
स्थानीय तह निर्वाचनमा भने मतदाता नामावली भएकै स्थानबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको हकमा भने जहाँबाट पनि उम्मेदवारी दिन पाउने व्यवस्था छ । भोट खसाल्न भने आफ्नो नामावली भएको क्षेत्रमै पुग्नुपर्ने हुन्छ ।

7
Shares
३ मंसिर २०७९, शनिबार ०५:११