तर मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर नक्कली मतपत्र र स्वस्तिक छाप भित्राउने क्रम बढेको पाइएको छ । निर्वाचनलाई प्रभावित पार्ने त्यस्ता वस्तु कहाँबाट आइरहेका छन् भन्ने यकिन हुन सकेको छैन । यद्यपि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीले शुक्रबार मात्रै वीरगन्ज महानगरपालिका–१६ का ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका–१६ का २३ वर्षीय अमिर राउत कुर्मीलाई पक्राउ गरेको छ । नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगन्ज आउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।
यसैबीच गत बुधबार पनि प्रहरीले १५ हजार थान नक्कली मतपत्रसहित भारतीय नागरिकलाई पर्साको जगरनाथपुर गाउँपालिका–२ बाट पक्राउ गरेको थियो । भारत पश्चिम चम्पारनका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट नक्कली मतपत्र नेपालतिर ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मतपत्र र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने भारतदेखि नक्कली मतपत्र छापेर ल्याइएको देखिन्छ । निर्वाचनलाई लक्षित गर्दै बिहीबार रातिदेखि दुई देशीय सीमानाका बन्द गरिएको छ । निर्वाचनलाई प्रभावित पार्न खोज्नेहरुले त्यसअघि नै भारतबाट नेपालतिर नक्कली मतपत्र ‘सप्लाई’ गरिसकेको अनुमान छ ।
नेपाल प्रहरीले सबै मतदानस्थल र केन्द्रमा निगरानी बढाएको छ । नक्कली मतपत्रका कारण निर्वाचन प्रभावित हुनसक्ने भन्दै त्यस्तो कुनै सूचना आएमा तत्काल जानकारी दिन पनि प्रहरीले सबैमा अनुरोध छ ।