विराटनगर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई भयरहीत र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न प्रदेश १ निर्वाचन कार्यालयले राजनीतिक दलहरुसँग छलफल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार आयोजित कार्यक्रममा राजनीतिक दल, राष्ट्रिय मानव अधिकार आयोग, थारु आयोगका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, नागरिक अगुवा र विभिन्न संघ–संस्थाका प्रतिनिधि उपस्थित थिए ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले हालसम्मको अवस्था, ४८ घण्टा अगाडिको अवधिमा पालन गर्नुपर्ने आचारण , मतदानको दिन पालना गर्नुपर्ने आचारण, आचारसंहिता उल्लघंन भएमा हुने कारबाही , मतदान स्थलमा समन्वय गरिनुपर्ने विषयवस्तुहरुको जानकारी गराए ।

दलका उम्मेदवार, नेता र कार्यकर्ताबाट आयोगले जिम्मेवारपूर्ण व्यवहारको आशा राखेको उनले बताए ।

छलफलमा सहभागी दलहरुले निर्वाचनलाई भयरहीत, स्वच्छ, निष्पक्ष बनाउन आ–आफनो ठाउँबाट पहलकदमी गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउन र सीमावर्ती क्षेत्रहरुमा हस्तक्षेपकाे जोखिमलाई अवमूल्यन नगर्न आयोग तथा जिल्ला प्रशासनलाई उनीहरूले आग्रह गरेका छन् ।

माेरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले खुला सीमामा हुन सक्ने गरसंवैधानिक र शंकास्पद विषयलाई नियन्त्रण गर्न जिल्लामा सात हजार सुरक्षाकर्मी खटाइएको जानकारी गराए।

14
Shares
२ मंसिर २०७९, शुक्रबार ११:२१