गगन नुनिया

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका प्रचारप्रसार समितिले विद्यार्थीलक्षित निर्वाचन जनचेतना कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरस्थित कलेज रोडमा गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई मतदान कसरी गर्नेबारे जानकारी प्रदान गरिएको थियो ।

कांग्रेस विराटनगर महानगर सभापति दिपक चापागाईँको नेतृत्वमा आयोजना गरिएको कार्यक्रमलाई आकाश घिमिरेले संयोजन गरेका थिए । मतदाता शिक्षा कार्यक्रमले मत बदर हुने सम्भावनालाई कम गर्न सहयोग गर्ने संयोजक घिमिरेले एएमजी टाइम्सलाई बताए ।

‘यसपटक चार मतपत्र छन्, गठबन्धन पनि छ त्यसैले मतदान रद्द हुने जोखिम पनि धेरै हुन्छ’ संयोजक घिमिरेले भने, ‘मत बदर हुने सम्भावना कम गर्न मतदाता शिक्षा कार्यक्रम गरिएको हो ।’ कार्यक्रम विशेषतः विद्यार्थीलाई लक्षित भएको उनले बताए । ‘विद्यार्थी मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउन जनचेतना कार्यक्रम आयोजना गरिएको हो’ संयोजक घिमिरेले भने, ‘वहाँहरुले बुझ्नु भयो भने घरमा अभिभावक, ज्येष्ठ नागरिक, छरछिमेकलाई सिकाउनु हुन्छ र धेरै मतदातामा मतदान शिक्षा फैलिन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’

प्रचारप्रसार समितिले विराटनगरका विभिन्न स्थानमा विद्यार्थीलक्षित निर्वाचन जनचेतना कार्यक्रम आयोजना गर्ने बताएको छ ।

(प्रशिक्षार्थी)

49
Shares
३० कार्तिक २०७९, बुधबार १४:०८