सुनीलले आफूले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा मेडिकल कलेज सञ्चालनका लागि लाइसेन्स लिने प्रक्रियाअगाडि बढाएकोमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका भानुभक्तले असहयोग गरी लाइसेन्स रोकेको बताए । कांग्रेसका सुनील र एमालेका भानुभक्त आगामी निर्वाचनका लागि यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।
आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका सुनीलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मेडिकल कलेजको लाइन्सेस दिन रोकेको बताए । केपी र भानुभक्त जीवित रहेसम्म यस क्षेत्रमा मेडिकल कलेज नआउने दाबीसमेत गरे ।दुईतिहाइ बहुमतसहितको तत्कालीन सरकारले जस्तोसुकै ऐनमा संशोधन गरी मेडिकल कलेज सञ्चालनका लागि मार्ग प्रशस्त गर्न सक्ने अवस्था रहेकोमा आफूलाई बदनाम गराउने बदनियतका साथ सरकारले लाइसेन्स रोकेको उनको आरोप थियो । आफूले नोबेल मेडिकल कलेजलाई असर पर्ने देखेर लाइसेन्स रोकेको भन्ने विपक्षी दलको आरोपबारे प्रष्ट पार्दै डा. सुनीलले नोबेल मेडिकल कलेजका कारणले मेडिकल कलेज बन्द हुने तर विराट मेडिकल कलेजका कारणले त्यस्तो नहुने भन्ने तर्क हास्यास्पद भएको बताए ।
आफू हालसम्म कुनै निर्णायक सरकारी ओहदामा पुग्दै नपुगेकाले आफूले नीतिगत निर्णयमा प्रभाव पार्ने कुनै सम्भावना नरहेको उनको भनाइ थियो । मेडिकल कलेज सञ्चालनका लागि ३ सय शैयाको अस्पताल र दक्षजनशक्ति अनिवार्य आवश्यक पर्ने उनले बताए ।
आफूले निर्वाचन जितेमा मापदण्ड पूरा गरी मेडिकल कलेज सञ्चालनमा ल्याउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । शून्यबाट सुरु गरी चिकित्साशास्त्रमा विद्यावारिधि (पीएचडी) तहसम्म अध्यापनको प्रबन्ध गर्न सक्ने क्षमता भएका नेपालका उत्कृष्ट १० व्यक्तिमध्ये आफू पनि १ रहेको उल्लेख गर्दै डा. सुनीलले पूर्वाधार पूरा भएको १ सय दिनभित्र कलेज सञ्चालनको स्वीकृति दिनेगरी काम गर्न आफू सक्षम रहेको प्रष्ट पारे ।
२०७४ मा चुनाव जितेर गएका एमाले सांसद भानुभक्तले सरकारमा मन्त्री हुँदासमेत कुनै उल्लेखनीय काम नगरेको भन्दै उनले भानुभक्तले मतको अपमान गर्दा ५ वर्षसम्म देशैभरका जनताले कालो दिन व्यहोर्नुपरेको बताए । आफ्ना प्रतिद्वन्द्वी भानुभक्तलाई पशुपतिनाथ मन्दिरमा गई आफूले भ्रष्टाचार नगरेको भनी आफ्ना छोराछोरीका नाममा कसम खान चुनौती दिँदै डा. सुनीलले आफूले कहिल्यै पनि कुनै भ्रष्टाचार नगरेको र आगामी दिनमा समेत नगर्ने बताए ।
२०७४ को आम निर्वाचनमा भानुभक्तसँग झिनो मतले पराजित भएका डा. सुनीलको प्रतिस्पर्धा यसपटक पनि उनीसँगै हुने छ । राप्रपाकी रेखा थापा पनि चुनावी प्रतिस्पर्धामा छिन् ।