‘देवीयो और सज्जनो, दिल थाम के बैठ जाए, क्यूँ कि आ रही है मिस मोनिका…!’

सुरुका तीन शब्दबाटै थाहा हुन्छ, यो हिन्दी संवाद हो। तर, भारतका बस टर्मिनल, रेल्वे स्टेशन वा एअरपोर्टमा दैनिक दोहोरिने झर्कोलाग्दो उद्घोषण होइन।

एकाउन्न वर्षअघि रिलिज्ड ‘क्याराभान’ फिल्ममा एउटा गीत थियो, ‘मोनिका’ नाम जोडिएको। ‘पिया तू अब तो आजा’ बोलको ५.२५ मिनेटको गीतमा मोनिका नाम आठपल्ट सुनिन्थ्यो।

त्यसयता जीवनको कुनै न कुनै कालखण्डमा यो गीत नसुन्ने हिन्दीभाषी कमै होलान्।

आशा भोस्ले र आरडी बर्मनले गाएको त्यही गीतको बोलबाट अहिले फिल्म बनेको छ, ‘मोनिका ओ माइ डार्लिङ।’ र, त्यही गीत अझ कडक गरी आएको छ हामीमाझ।

शुक्रबार रिलिज्ड डार्क सस्पेन्स थ्रीलर धारको यो फिल्मले ‘मोनिका’ गीत फेरि ब्युँझाएको हो, धेरैका ओठसँगै हात र खुट्टा चल्मलाउने गरी। फिल्मको कथा त आङ् सिरिङ्ग पार्ने छँदैछ।

‘रमन राघव–२’ निर्देशक भसन बालाले यसको निर्देशन गरेका छन्। हेरुन्जेल आँखा झिमिक गर्न मन नलाग्ने ‘अन्धाधून’ फिल्म लेखिसकेका योगेश चन्देकरले यसको पटकथामा उस्तै मेहेनत गरेका छन्।

‘अन्धाधून’ को कथा फ्रान्सेली छोटो फिल्मबाट लिइएको थियो, यसपटकको कथा जापानी हो। जे होस्, ‘मोनिका ओ माइ डार्लिङ’ मा क्षण क्षण आउने ट्विस्ट र टर्नले दर्शकलाई आरामसँग बस्न दिँदैन।

संगीत यसको बलियो कडी बनेको छ। पात्रको परिस्थिति र कथाको फ्लोसँगै  ‘मोनिका’ गीत फिल्मभर गुन्जिन्छ, जसमा पुरानो युगको स्पर्श र झंकार छ।

योगेशले कथा यसरी बुनेका छन्, दर्शकलाई पात्रमा हराएको पत्तै हुँदैन। चरित्र नारीको होस् वा पुरुषको, फरक पर्दैन। कलाकार पनि पुरानो होस् वा नयाँ, सबैको उत्तिकै आकर्षण छ।

२ घण्टा १० मिनेटको फिल्ममा एकपछि अर्को हत्या हुन्छ। तर, आँखा चिम्लिनुपर्ने गरी रगत बग्दैन। हत्यारा को हो भन्ने अन्तिमतिर मात्र थाहा हुन्छ। शंका गरिएका कोही नहुनु नै फिल्म सफल हुने आधार हो।

‘मोनिका ओ माइ डार्लिङ’ दर्शनीय फिल्म हुनुको श्रेय यसको प्राविधिक टोलीलाई जान्छ। क्यामेरालाई स्वप्निल सोनवणेले राम्रोसँग ह्याण्डल गरेका छन्। अतनु मुखर्जीको सम्पादन सधैंझैं अब्बल छ।

खँदिलो पटकथा, अप्रत्यासित ट्विस्ट, रेट्रो शैली संगीत र बलियो निर्देशन यसका राम्रा पक्ष हुन्। तर, तुलनात्मक रूपमा कमजोर दोस्रो हाफले फिल्म रेटिङमा पूर्णाङ्क तोड्न सफल छैन।

राजकुमार राव, हुमा कुरैसी, राधिका आप्टेको अभिनय कतै हँसाउने छ, कतै मन दुःखी पार्ने। सिकन्दर खेर, जेन मेरी खान, सकान्त गोयल, आकांक्षा रन्जन जस्ता सहायक कलाकार पनि कम छैनन्।

सिरियल किलर को हो फिल्म हेरेरै पत्तो लगाउनुस्, अहिलेलाई भने उनै राजकुमार अर्थात् जयन्त अर्खेड्करको यो डायलग- ‘फिजिक्स है चुतिये, सिरियल किलर नहीं हूँ मैं।’

14
Shares
२८ कार्तिक २०७९, सोमबार १३:५०