काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन भएको छ । सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेपछि परिचालन भएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निर्वाचनको पूर्वसन्ध्यामा तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गर्ने काम भइरहेको छ ।

निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको बताए ।

निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन् ।

एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना छ ।

यसैगरी सेनाले सुरक्षा संवेदनशीलताका आधारमा देशका ७६२ स्थानमा बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको र थप १४३ स्थानमा फौज राख्ने तयारी भइरहेको जनाएको छ ।

सरकारले निर्वाचनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएका विमानस्थल, महत्वपूर्ण सम्पदा तथा कारागारलगायत १११ स्थानको सुरक्षामा परिचालन हुने गरी तयारी अवस्थामा रहेको सेनाले जनाएको छ ।

यसअघि निर्वाचन आयोगको मुख्यालय तथा मतदान सामग्री, मतपत्रको सुरक्षा र प्याकेजिङका लागि एक सय जना नेपाली सेना यसअघि नै परिचालन भइसकेका छन् ।

प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै मतपत्रको छपाइ सकिएको छ । मतपत्रको ढुवानीको जिम्मेवारी नेपाली सेनाले मतदान सुरु हुनुभन्दा १० दिन पहिले पूरा गरेको छ । अन्य जिल्लामा मतपत्रको ढुवानी एक हप्तापहिले नै पूरा भएको थियो ।

सेनाले हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा हवाई साधनद्वारा मतपत्र ढुवानी गरिसकेको छ ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना निर्वाचनको अवधिमा मतदानस्थलको बाहिरी सुरक्षा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थकको नियन्त्रण तथा निष्क्रिय गर्नेलगायतमा परिचालन हुनेछ ।

सोका लागि पृतना, बाहिनी, गुल्मबाट ७४ हजार ८४९ सैनिक प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्रमा परिचालन गरिएको सैनिक मुख्यालय जङ्गी अड्डाले जनाएको छ ।

निर्वाचन सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि भए तत्काल परिचालन हुने गरी काठमाडौँ पोखरा, चितवन, बर्दिवास, इटहरी, सुर्खेतलगायतका स्थानमा सेनाले हवाई साधनसहित १५० सैनिक तयारी अवस्थामा राखेको जनाएको छ ।

सुरक्षा संवेदनशील रहेका मतदान स्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६१० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ ।

विस्फोटक पदार्थ पत्ता लगाउन र निष्क्रिय पार्न देशभर दुई हजार ५६० तालिम प्राप्त बम डिस्पोजल टोलीलाई पूर्वतयारी अवस्थामा राखिएको छ । (‘गोरखापत्र’ बाट)

7
Shares
२८ कार्तिक २०७९, सोमबार ०६:४८