बिर्तामोड । मंसिर ४ गते हुने आमनिर्वाचनमा देशकै चर्चितमध्ये एउटा क्षेत्र हो– झापा १ । यो क्षेत्रमा चर्चित दुई अनुहारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यही क्षेत्रबाट तेस्रोपटक निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । उनको मुख्य प्रतिस्पर्धीका रुपमा छन्, नेकपा एमालेका अग्नि खरेल ।

शर्मा नियमित रुपमा सोही क्षेत्रमा सक्रिय रहेको साथै यसअघि तीन पटकसम्म निर्वाचनमा सहभागी भइसकेका व्यक्ति हुन् भने खरेल ‘पाहुना उम्मेदवार’ का आलोचित छन् ।

वरिष्ठ अधिवक्ता रहेका खरेलको मूल घर झापाकै गौरादह भए पनि अधिकांश समय काठमाडौं बस्ने गरेको भन्दै उनलाई प्रतिस्पर्धीहरुले त्यस्तो भन्ने गरेका हुन् ।

खरेल २०६४ र २०७० सालको संविधान सभा सदस्य बनेका थिए । कानुनमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका खरेल एमालेका स्थायी समिति सदस्य र झापा इन्चार्ज हुन् । उनी नेपाल बार एसोसिएशनका पूर्व महासचिवसमेत थिए ।

विश्वप्रकाश शर्मा समकालीन नेपाली राजनीतिमा चर्चित नेता हुन् । २०४० सालमा धुलाबारी मावि झापाको नेपाल विद्यार्थी संघ इकाइ सभापतिको रूपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा नौ कक्षामा पढ्दा नै प्रहरीद्वारा पक्राउमा परेका थिए ।

२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति बनेका उनी २०४८ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका थिए । २०५३ सालमा संघको महामन्त्री हुँदै २०५७ सालमा केन्द्रीय सभापति बनेका थिए ।

२०७२ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित बनेका शर्माले २०७४ सालमा पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए । २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बनेका शर्मा हाल कांग्रेसका महामन्त्रीका रुपमा छन् ।

एमालेभित्र कानुनका ज्ञाताको छवि बनाएका खरेललाई सदैव सन्तुलित प्रस्तुति दिने सरल व्यक्तित्व मानिन्छ । खरेलले महान्यायाधिवक्ताका रुपमा पनि काम गरेका छन् ।

झापा १ का मतदाताका सामु यी दुबै उम्मेदवार उत्तिकै आकर्षणको केन्द्रका रुपमा रहेका छन् । दुबै नेता दलगत आग्रहभन्दा माथि उठेर साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्नेमा जोड दिन्छन् ।

पालिका तहको मत पार्टीलाई उल्लेख्य प्राप्त भएकाले आफूले निर्वाचनमा विजय प्राप्त गर्न सजिलो रहेको खरेलको बुझाइ छ । स्थानीय मतदाताले आफूलाई पूरा साथ दिने विश्वासका साथ लागिपरेका शर्मा पनि निर्वाचन परिणाम आफ्नै पक्षमा आउने आशा व्यक्त गर्छन् ।

झापा १ मा मेचीनगर नगरपालिकासहित बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ वडा तथा भद्रपुर नगरपालिकाको ९ र १० समेटिएका छन् ।

स्थानीय तह निर्वाचनमा २१ वटा वडामध्ये एमालेले १४ वडा जितेको थियो । पालिका चुनावमा एमालेले ३१ हजार २ सय ३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९ सय २२, माओवादीले ३ हजार ९ सय ५ र एकीकृत समाजवादीले १ हजार २ सय ५२ मत प्राप्त गरेका थिए ।

42
Shares
२८ कार्तिक २०७९, सोमबार ०५:४९