सुपिका खड्का, सन्देश बस्नेत र मेगानी दास

सरिता कर्मकार

विराटनगर । जनमत आफ्नो पक्षमा पार्न उम्मेदवारहरु पुरानै एजेण्डाका साथ घरदैलो कार्यक्रम र प्रचारप्रसारमा सक्रिय छन् । मतदाताहरुसमक्ष अनेक खालका प्रतिबद्धता उनीहरुले प्रकट गरिरहेका छन् । पहिलेजस्तै बाचा र प्रतिबद्धता लिएर आएका उम्मेदवारहरुको अनुहार गत निर्वाचनका बेलाभन्दा निकै पछि मतदाता देख्न पाइरहेका छन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा दलहरुको घोषणापत्र मार्फत ‘रोजगारको सुविधा, विद्युत उत्पादन, गरिबमुक्त देश, बिजुली उत्पादन, इन्धनबाट चल्ने सवारी साधन जस्ता कागजी प्रतिबद्धता व्यक्त भइरहेका छन् ।

चुनावको समयमा देखा पर्ने अनुहारहरु चुनाव पछि देखा पर्न मुस्किल पर्नुको कारण यसपटक भोट दिने नदिने भन्ने कुरामा कतिपय मतदाता अन्योलमा परेका छन् । पुरानै एजेण्डा, पुरानै प्रतिबद्धता लिएर आउने गरेको तर त्यसअनुसार कार्यानवयन नभएकामा मतदाताको गुनासो छ ।

‘बाढीको समस्या समाधान गरिदिनेलाई भोट’ : मेगानी दास, कटहरी

मैले हालसम्म सात पटक भोट दिइसकेकी छु । सबै पार्टीका उम्मेदवार एकै खाले प्रतिबद्धता जनाउँदै भोट माग्न आउँछन् । बाटोलाई स्वर्ग बनाइदिने भन्दै हामीलाई भोट दिनुस् भन्दै हात जोडेर भोट मागेर जान्छन् । घर छेउमै खोला भएकाले वर्षामा घरभित्रै बाढी पस्छ । सडक पनि जलमग्न हुने भएकाले हिँड्न मुस्किल पर्छ । नाली सही ढङ्गले नबनाएको कारण पानी बगेर जाँदैन । जमेर बस्ने गरेको छ । हाम्रो गाउँ बस्तीमा व्यवस्थित सडक बनाउने र बाढीको समस्याबाट छुटकारा दिने नेतालाई भोट दिने सोचेकी छु ।

‘यसपटक युवालाई भोट’ : सन्देश बस्नेत, सुनबर्षी नगरपालिका

मैले अहिलेसम्म तीनपटक भोट दिसकेको छु । जसलाई भोट दिए पनि कसैले ठूलो परिवर्तन गर्न सकेका छैनन् । सडक निर्माण गरे पनि राम्रो गणस्तरको छैन । नयाँ नयाँ विकासको कार्य योजना आए पनि कुनै व्यवस्थित छैन । भित्री सडकहरु बनाइएको छ तर मूख्य सडक निर्माण नगर्नुको कारण धुलो उडेर हिँड्न नसक्ने अवस्था छ । यस पटकको भोट राम्रो र नयाँ युवाहरुलाई दिने विचार गरेको छु ।

‘आश्वासनमात्र दिनेलाई पत्याइँदैन’ : सुपिका खड्का, कटहरी

मैले यसअघि दुईपटक भोट दिएकी छु । हाम्रो बस्तीको मुख्य समस्या भनेको सडक, नाला अनि बाढी हो । घरनजिकै खोलानाला छन् र पालिकाले फोहार उठाउन पनि आउँदैनन् । सबैजना फोहोर खोला छेउमा फ्याँक्ने गर्दछन् । दुर्गन्ध फैलिएको छ । सडक व्यवस्थित छैन । नालालाई उचाई पारेर बनाइएको छ । जसले गर्दा सबै पानी बाटोमा जम्छ । उम्मेदवारहरु आएर सडक निर्माण गरिदिन्छौं, बाह्र कक्षासम्म नानीहरुलाई पढाई निःशुल्क गरिदिन्छौं हामीलाई एकचोछि विश्वास गरेर भोट दिनु भनि बिन्ती गर्छन् । तर पहिलेजस्तै यसपालि पनि आश्वासन दिनेलाई भने पत्याइँदैन । काम गर्नेलाई हाम्रो सहयोग रहनेछ ।

(प्रशिक्षार्थी)

252
Shares
२७ कार्तिक २०७९, आईतवार २२:०२