काठमाडौं । शारजाहबाट फर्किएका बलिउड सुपरस्टार शाहरुख खानलाई मुम्बई विमानस्थलमा भन्सारका इन्टेलिजेन्स युनिटले शुक्रबार राति रोकेको छ । उनीसँग महँगो घडी र कभरहरू रहेको र तिनको १८ लाख रुपैयाँ थियो । त्यसका लागि शाहरुखले ६.८३ लाख रुपैयाँ भन्सार तिर्नुपर्ने थियो ।

शाहरुख शुक्रबार राति करिब १२ः३० बजे निजी चार्टर्ड विमानबाट मुम्बई पुगेका थिए । बिहान करिब १ बजे यहाँ टि–३ टर्मिनलमा रेड च्यानल क्रस गर्ने क्रममा भन्सारले शाहरुख र उनको टोलीलाई रोकेको थियो । उनको झोला जाँच गर्दा रोलेक्स, स्पीरिट र एप्पलको घडी फेला परेको थियो ।

शाहरुख र उनको म्यानेजर पूजा डडलानीलाई एयरपोर्टमा एक घण्टा लामो सोधपुछ पछि छोड्न अनुमति दिइएको थियो । शाहरुखका अंगरक्षक रवि र टोलीका अन्य सदस्यहरूलाई हिरासतमा राखिएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार शाहरुखका अंगरक्षक रविले साढे ६ लाख रुपैयाँ बढी भन्सार तिरेका थिए ।

भन्सार प्रक्रिया पूरा गर्न शनिबार बिहानसम्म समय लागेको थियो । बिहान ८ बजे प्रक्रिया पूरा भएपछि भन्सार अधिकारीले रविलाई रिहा गरेको जनाइएको छ ।

शाहरुख नोभेम्बर ११ मा यूएईको एक्सपो सेन्टर पुगेका थिए । त्यहाँ उनलाई शारजाह अन्तर्राष्ट्रिय पुस्तक मेला २०२२ को ४१ औँ संस्करणमा सहभागी भएकोमा ग्लोबल आइकन अफ सिनेमा एण्ड कल्चरल नेरेटिभ अवार्डबाट सम्मानित गरिएको थियो ।
637
Shares
२६ कार्तिक २०७९, शनिबार १६:३०